तपाईँ सुन्दै हुनुहुन्छः

५४ वर्षपछि सुविधा सम्पन्न बन्यो फाप्लु अस्पतालको भवन

जिल्ला अस्पताल फाप्लुको नवनिर्मित भवन (अगाडि रहेको हालसम्म सेवा दिँदै आएको पुरानो टहरा)

सोलुखुम्बु । साना साना साँघुरा टहराबाट विगत ५४ वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुको सुविधा सम्पन्न भवन तयार भएको छ । विविध कारणले वर्षौँदेखि बन्न नसकेको भवन सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङबु शेर्पाले सरोकारवाला निकायमा पहल र समन्वय बढाएपछि भवन निर्माण भएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद निरौला र सोलुदूधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेलजाङबु शेर्पाले बुधबार संयुक्त रुपमा उद्घाटन गरेपछि लिफ्ट सहितको अपाङ्गमैत्री नयाँ भवनबाट एकिकृत स्वास्थ्य सेवा शुरु हुने भएको छ ।

 जिल्ला अस्पताल फाप्लुको नवनिर्मित भवन उद्घाटन गर्दै 

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौलाले अस्पतालको दरबन्दीअनुसारको जनशक्ति र उपकरण व्यवस्थापनमा स्थानीय तह, प्रदेश र संघीय सरकारसँग समन्वय गर्ने बताउनुभयो । 

सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङबु शेर्पाले जिल्ला अस्पताल भौतिक पूर्वाधारमा अब्बल बनेकाले अब सेवा प्रवाहमा चुस्त र स्तरीय बनाउन लाग्नुपर्ने बताउनुभयो । जनशक्ति र आवश्यक उपकरण व्यवस्थापनमा नगरपालिकाले सहजीकरणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता उहाँको छ । जिल्ला अस्पताललाई भौतिक रुपमा सबल बनाउने लक्ष्य पुरा गर्न नगरपालिकाको तर्फबाट आफूले गरेको मेहनेतले सार्थकता पाएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो ।

 जिल्ला अस्पताल फाप्लुको नवनिर्मित भवन उद्घाटन गर्दै 

यसअघि अपर्याप्त संरचनाबाट अधिकतम् सेवा दिँदै आएकोमा भौतिक पूर्वाधार पर्याप्त र सबल बनेकोमा खुसी व्यक्त गर्दै अस्पतालका निमित्त कार्यालय प्रमुख सानी शेर्पाले आवश्यक जनशक्ति र उपकरण व्यवस्थापन हुनसके जिल्ला अस्पतालको सेवा प्रवाहमा उल्लेख्य सुधार ल्याउन सकिने बताउनुभयो ।

सहरी विकास मन्त्रालयको करिब २१ करोड २१ लाख रुपैयाँको लागतमा निर्माण भएको ३० बेड क्षमताको अस्पताल भवन वि.सं. २०७६ साल पुस २७ गतेबाट निर्माण सुरु भई गएको असार २५ गते निर्माण कम्पनीले अस्पताललाई हस्तान्तरण गरेको थियो । 

विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पाइला टेक्ने सर एडमन्ड हिलारीले ५४ वर्षअघि स्थापना गर्नुभएको फाप्लु अस्पताल करिब ६४ रोपनी क्षेत्रफलमा फैलिएको छ । हालै नवनिर्मित भवन सात रोपनी क्षेत्रफलमा बनेको अस्पताल प्रशासनले जनाएको छ । 

अस्पतालको आफ्नै सुविधा सम्पन्न भवन नहुँदा लामो समयदेखि पुरानो भवनबाट सेवा प्रवाह हुँदै आएको थियो । सरकारले कर्मचारीको दरबन्दी घटाउँदा सेवा प्रवाहमा चुनौतीको सामना गर्नुपरेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । 

जिल्ला अस्पताल फाप्लुको नवनिर्मित भवन (अगाडि रहेको हालसम्म सेवा दिँदै आएको पुरानो टहरा)

प्रतिक्रिया राख्नुहोस्

Back to top button