तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभाबाट तथ्याङ्क विधेयक र शपथ सम्बन्धी विधेयक बहुमतले पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले तथ्याङ्क विधेयक, २०७८ र शपथ सम्बन्धी विधेयक, २०७९ पारित गरेको छ ।

बैठकले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त तथ्याङ्क विधेयक, २०७८ र शपथ सम्बन्धी विधेयक, २०७९ बहुमतले पारित गरेको हो । 

यस्तै बैठकले खानेपानी तथा सरसफाइ विधेयक, २०७७ माथि राष्ट्रिय सभाबाट भएको संशोधन माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको छ । 

आजको बैठकमा खानेपानी तथा सरसफाई विधेयक निर्णयार्थ पेश गर्न गणपुरक संख्या नपुगेपछि सभामुख अग्निप्रसाद सापकोटाले कार्यसूचीबाट हटाउनुभएको थियो । 

यसअघि, बैठकको सुरुमा सांसद खगराज अधिकारीले स्वास्थ्य बिमा कार्यक्रमलाई समाप्त गर्न खोजिएको भन्दै सरकारको ध्यानाकर्षण गर्न सभामुखमार्फत रुलिङको माग गर्नुभयो । 

सांसद अधिकारीले समाजवाद उन्मुख एक मात्र कार्यक्रम स्वास्थ्य बिमालाई समाप्त गर्न खोजिएको र स्वास्थ्य मन्त्रालयले ४/५ लाख डोज कोभिसिल्ड खोप समेत हराएको बताउनुभयो । 

अर्का सांसद महेश बस्नेतले भक्तपुर इन्जिनियरिङ कलेजमा भइरहेको अनियमिततामा महान्यायधिवक्ताको कार्यालयले समेत सहयोग गरेको भन्दै महान्यायाधिवक्ताले राजीनामा दिनुपर्ने बताउनुभयो । 

उहाँले देशैभर बाढी पहिरोले क्षति पुर्‍याइरहे पनि राहत र पुनर्स्थापना लागि सरकारको ध्यान नपुगेको बताउनुभयो ।

यस्तै बैठकको शून्य समयमा बोल्ने सांसदहरुले सार्वजनिक विद्यालयको शैक्षिक स्तर खस्कँदै गएको, बाढी र पहिरो पीडितको उद्धार, राहत र पुनर्स्थापनामा सरकारले पर्याप्त ध्यान नपुगेको, नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाई भएको तथा महत्त्वपूर्ण विधेयकहरू संसदमा अड्किरहेको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । 

प्रतिनिधि सभाको अर्को बैठक साउन २९ गते आइतबार बिहान ११ बजे बस्ने छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button