तपाईँ सुन्दै हुनुहुन्छः

पोखराको प्याराग्लाइडिङलाई कायमै राख्न उपाय खोज्छौँ : मन्त्री श्रेष्ठ

कास्की । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पोखराको ब्राण्डका रुपमा रहेको प्याराग्लाइडिङ व्यवसाय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि समेत कायमै राख्ने उपाय खोजिने बताउनुभएको छ । 

समाजवादी प्रेस सङ्गठनले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री श्रेष्ठले विमानको सुरक्षामा कुनै असर नपर्ने गरी प्याराग्लाइडिङ व्यवसायलाई कायमै राख्न प्रयत्न गरिने बताउनुभयो । 

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि हालको प्याराग्लाइडिङ विस्थापित हुनुपर्ने चिन्ताले यहाँका पर्यटन व्यवसायीलाई चिन्तित बनाएको छ ।

मन्त्री श्रेष्ठले भन्नुभयो, “पोखराको ब्राण्ड बनिसकेकाले पर्यटन व्यवसायीले प्याराग्लाइडिङको संरक्षणको माग गर्नुभएको छ । विमानको सुरक्षामा कुनै सम्झौता गर्नु हुँदैन । सुरक्षामा असर नपर्ने गरी प्याराग्लाइडिङ व्यवसाय कुनै उपाय हुँदासम्म कायम गर्नुपर्दछ भनेर लागि परेका छौँ ।”

मन्त्री श्रेष्ठले आगामी अङ्ग्रेजी नयाँ वर्षदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइने बताउनुभयो । 

हालसम्म ९८ प्रतिशत काम सकिएको विमानस्थल सन् २०२३ को जनवरी १ देखी सञ्चालनमा ल्याउने निर्णय केही दिनअघि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गरेको उहाँले जानकारी दिनुभयो । 

मन्त्री श्रेष्ठले विमानस्थल सञ्चालनका लागि समस्याका रुपमा रहेको रिठेपानी डाँडा कटान र ल्याण्डफिल साइट व्यवस्थापनको काम छिट्टै अघि बढाइने बताउनुभयो । 

सातै प्रदेशमा एक वर्षभित्रमा नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (नाथुम) को कलेज स्थापना गर्ने सरकारको योजना रहेको उहाँले बताउनुभयो । सुरुआतमा गण्डकी, लुम्बिनी र मधेश प्रदेशमा सो कलेज स्थापनाको योजना रहेको मन्त्री श्रेष्ठले बताउनुभयो । 

पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको माग बढ्दै गएकाले पूर्ति गर्नका लागि नाथुमले सफलता प्राप्त गर्ने र पर्यटन शिक्षा चाहनेहरू काठमाडौँ जानुपर्ने अवस्था अन्त्य हुने विश्वास मन्त्री श्रेष्ठको छ । 

प्रदेशमा नाथुम कलेज स्थापनाका लागि काठमाडौँ विश्वविद्यालयसँग सम्झौता भइसकेको उहाँले जानकारी दिनुभयो ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button