तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा जडीबुटी निकासीबाट १८ लाख बढी राजस्व सङ्कलन

सल्यान । सल्यानमा एक वर्षको अवधिमा जडीबुटी निकासीबाट १८ लाख बढी रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

गत आर्थिक वर्ष २०७८/०७९ मा १८ लाख ५५ हजार ४ सय रुपैयाँ राजस्व सङ्कलन भएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ ।

कार्यालयका अनुसार राष्ट्रिय तथा सामुदायिक वनबाट सङ्कलन गरिएको ३ लाख ७३ हजार २ सय ६२ किलो विभिन्न १० प्रजातिका जडीबुटी जिल्ला बाहिर निकासी भएको डिभिजन वन कार्यालय सल्यानका विजय पुलामी मगरले जानकारी दिनुभयो ।

यस्तै निजी आबादीबाट पनि ३ लाख २१ हजार ८ सय २४ किलो जडीबुटी निकासी भएको उहाँको भनाई छ । उहाँका अनुसार आबादीबाट जडीबुटी निकासीमा राजस्व नलाग्ने र राष्ट्रिय तथा सामुदायिक वनबाट सङ्कलन गरिएको जडीबुटीको मात्र राजस्व सङ्कलन हुने गर्दछ ।

टिमुर, रिठा, तेजपात, दालचिनीको बोक्रा, घोडताप्रे, काउलोको बोक्रा, चुत्रोको बोक्रा लगायतका जडीबुटी जिल्लाबाट निकासी हुँदै आइरहेको छ ।

खेर गएको पाखो बारी र कम लगानीमा पनि राम्रो आम्दानी हुने भएपछि जिल्लामा पछिल्लो समय कृषकहरू व्यावसायिक जडीबुटी खेतीमा आकर्षित हुँदै आइरहेका छन् । टिमुर, रिठा, तेजपात लगायतका जडीबुटीका लागि जिल्लाको हावापानी अनुकूल भएकाले पनि कृषकहरू यस प्रति बढी आकर्षित भएको कार्यालयले जनाएको छ ।

बनगाड कुपिण्डे, शारदा, बागचौर नगरपालिका, छत्रेश्वरी, कपुरकोट गाउँपालिका व्यावसायिक टिमुर उत्पादनका लागि पकेट क्षेत्रका रुपमा लिने गरिन्छ । टिमुर उत्पादन वृद्धि भएसँगै शारदा नगरपालिका १५ मूलडाँडामा जडीबुटी प्रशोधन केन्द्र सञ्चालन हुँदै आइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button