तपाईँ सुन्दै हुनुहुन्छः

निःशुल्क रुपमा विद्यालयलाई सफ्टवेयर हस्तान्तरण

जनकपुरधाम । मधेश प्रदेशका सामुदायिक विद्यालयमा नमूना विद्यालयको रुपमा रहेको संकट मोचन देवशरण रामरति माध्यमिक विद्यालयको शैक्षिक गुणस्तरमा थप सुधार तथा सूचना प्रविधि मैत्री बनाउन डाइनोमिक टेक्नोसफ्ट प्राइभेट लिमिटेडले आज निःशुल्क रुपमा विद्यालय सफ्टवेयर हस्तान्तरण गरेको छ ।

सफ्टवेयरको हस्तान्तरण जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले गर्नुभयो ।

विद्यालय सफ्टवेयरको प्रयोगले विद्यालयको वैकल्पिक सिकाई व्यवस्थापन, विद्यालय व्यवस्थापन प्रणाली र सिकाई सहजीकरणका लागि निरन्तर शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । खास गरी यो सफ्टवेयरको प्रयोगले विद्यार्थीहरू विद्यालय आएको र गएको विषयमा पनि सजिलैसँग विद्यालयका प्रधानाध्यापक तथा विद्यार्थीका अभिभावकहरूले थाहा पाउन सकिने भएको छ ।

साथै शिक्षकको हाजिरीदेखि विद्यालयको आर्थिक, प्रशासनिक तथा समग्र शैक्षिक अवस्थाको बारेमा यसै सफ्टवेयरको माध्यमले एन्ड्रोइड मोबाइल मार्फत अनुगमन गर्न सक्ने सफ्टवेयर कम्पनीका प्रदेश निर्देशक विजय कुमार साहले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका सदस्य एवं शिक्षा प्रेमी गणेश साहले विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन विद्यालयमा निःशुल्क रुपमा विद्यालय सफ्टवेयरले प्रदान गरेको कम्पनीलाई धन्यवाद दिँदै विद्यालयको शैक्षिक गुणस्तर सुधारमा ठूलो मद्दत पुग्ने आशा व्यक्त गर्नुभयो ।

कार्यक्रमका सभापति विद्यालयका प्रधानाध्यापक बलराम साहले संकट मोचन देवशरण रामरति माध्यमिक विद्यालयमा अहिले ३ हजार ४ सय विद्यार्थीहरू अध्ययनरत रहेको बताउँदै सञ्चालनमा आउने विद्यालय सफ्टवेयरले विद्यालयको शैक्षिक अवस्थामा सुधारका लागि ठूलो मद्दत पुग्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button