तपाईँ सुन्दै हुनुहुन्छः

चौतारा साँगाचोकगढीभित्र पहिरो

सिन्धुपाल्चोक । अविरल वर्षासँगै सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाका विभिन्न ठाउँमा पहिरो गएको छ । गएराति अविरल वर्षासँगै आएको पहिरोले चौतारा साँगाचोकगढी नगरपालिका वडा न १३, जंगलछापमा दुई घर पुरिएको छ भने १८ घर उच्च जोखिममा रहेको छ ।

बस्तीमाथिबाट पहिरो जाँदा वडा न १२ लप्सेमा विष्णुराज गिरीको घर पुरिनका साथै ८ वटा बाख्रा बोको पुरिएको प्रहरीले जनाएको छ । वडा न ९ को जल्कीने भैँसे सडक खण्ड पूर्ण रूपले अवरुद्ध भएको छ भने बन्देउ चौतारा सडक खण्डको ५० भन्दा बढी ठाउँमा साना र ठूलो पहिरो गएको छ । पहिरो गएर बाटो अवरुद्ध भएपछि बिहानदेखि सवारी आवागमन पनि अवरुद्ध भएको छ । वडा न १० कै जल्किनेदेखि हर्रे डाँडासम्मका सडक दायाँबायाँका करिब २० घर पहिरोको उच्च जोखिममा परेको छ भने ठाउँ ठाउँमा सडक भासिएको छ ।

वडा न ९  र १० को सिमाना छुट्याउने अधेरी खोला बस्ती भित्र पस्दा रमाइलो डाँडाको ३ घर उच्च जोखिममा परेको छ । वडा न १३ को धेरै ठाउँहरूमा पहिरो जाँदा  झण्डै ३० घर जोखिममा परेको वडा अध्यक्ष रामप्रसाद गौतमले जानकारी दिनुभयो । 

नगरको विभिन्न ठाउँमा पहिरो गएपछि बिहानैदेखि प्रहरी र स्थानीय उद्धार तथा राहतमा जुटेका छन् । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले पहिरो गएको प्रत्येक बस्तीमा पुगेर अनुगमन गर्नुका साथै तत्काल पहिरो रोकथाम र राहतका लागि प्रतिबद्धता जाहेर गर्नु भयो । मानवीय क्षति नभएको र थप क्षति नहोस् भनेर नगरले पहिरो नियन्त्रणका लागि तत्काल प्रतिकार्य गर्न पहिरो गएको स्थानमा तारजाली पठाइएको जानकारी दिनुभयो । विभिन्न ठाउँमा पहिरो गए पनि कुनै मानवीय क्षति भने नभएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button