तपाईँ सुन्दै हुनुहुन्छः

अछामका स्थानीय तहले एक वर्षमा करिब ६ करोड राजस्व सङ्कलन गरे

अछाम । अछामका १० वटा पालिकाले एक वर्षको अवधिमा करिब ६ करोड राजश्व सङ्कलन गरेका छन् । आर्थिक वर्ष २०७७/७८ मा अछामका १० वटा स्थानीय तहले वार्षिक ५ करोड ८४ लाख ११ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको महालेखा परीक्षकको कार्यालयको ५९ औँ प्रतिवेदनमा उल्लेख गरिएको छ । 

जिल्लाका १० वटा पालिका मध्य सबै भन्दा बढी साँफेबगर नगरपालिका र सबै भन्दा कम तुर्माखाँद गाउँपालिकाले राजश्व सङ्कलन गरेका छन् । साँफेबगर नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा १ करोड ६५ लाख ८ हजार र तुर्माखाँद गाउँपालिकाले २० लाख ५४ हजार राजश्व सङ्कलन गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

साँफेबगर नगरपालिकाले तुर्माखाँद गाउँपालिका भन्दा १ करोड ४४ लाख ६३ हजार बढी राजश्व सङ्कलन गरेको छ । साँफेबगर नगरपालिकाले केही स्थानीय तह बाहेक अन्य पालिका भन्दा तेब्बर/चौब्बर बढीले राजश्व सङ्कलन गरेको छ । 

यस्तै चौरपाटी गाउँपालिकाले ९४ लाख ८६ हजार मंगलसैन नगरपालिकाले ७७ लाख ९७ हजार, पञ्चदेवल विनायक नगरपालिकाले ४५ लाख ४४ हजार र ढकारी गाउँपालिकाले ४४ लाख ३० हजार रुपैयाँ राजश्व सङ्कलन गरेका छन् ।

त्यसैगरी कमलबजार नगरपालिका  ४२ लाख १६ हजार, मेल्लेख गाउँपालिकाले ३४ लाख २१ हजार, बान्नीगढी जगयढ गाउँपालिकाले ३० लाख ६१ हजार र रामारोशन गाउँपालिकाले २९ लाख ३ हजार रुपैयाँ राजश्व सङ्कलन गरेका छन् । 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ५५, ५७, ५८ र ५९ मा एकिकृत सम्पत्ति र घरजग्गा बहाल कर, व्यवसायी कर, सिफारिस दस्तुर, व्यक्तिगत घटना दर्ता, अन्य प्रशासनिक शुल्कबाट राजश्व सङ्कलन गर्न व्यवस्था रहेको छ । त्यस्तै केही स्थानीय तहले नदीजन्य पदार्थ र स्काभेटरको प्रयोगबाट पनि राजश्व सङ्कलन गर्दै आएका छन् । 

स्थानीय तहले सङ्कलन गरेको राजश्व विकास निर्माणका कार्यमा खर्च नभई सेवा सुविधा र प्रशासनिकमा बढी खर्च गर्ने गरेको पनि महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएको छ । महालेखा परीक्षकको प्रतिवेदनमा  प्रशासनिक खर्च नियन्त्रण गदै प्राप्त अनुदान र राजश्व बाँडफाँडको अधिकतम विकास निर्माण कार्यमा खर्च गर्नको लागि सुझाव दिइएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button