तपाईँ सुन्दै हुनुहुन्छः

टेम्केमैयुङ गाउँपालिकाका विद्यालय ६ दिन बन्द 

भोजपुर । भोजपुरमा पछिल्लो समयमा कोरोना सङ्क्रमणको दर बढ्दै जानका थालेको छ । शिक्षक र विद्यार्थीहरूमा समेत कोरोना पोजेटिभ देखिए पछि जिल्लाको पश्चिममा रहेको टेम्केमैयुङ गाउँपालिका भित्र रहेका सबै विद्यालयहरू मङ्गलवारबाट बन्द गरिएको छ । 

स्वास्थ्य कार्यालय कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र कुमार बुढाथोकीका अनुसार मङ्गलवारसम्मको तथ्याङ्कमा टेम्केमैयुङ गाउँपालिकामा मात्र ५५ जना कोरोना संक्रमित भेटिएका छन् भने रामप्रसाद राई गाउँपालिकामा ३ जना गरी जिल्लामा सङ्क्रमितको सङ्ख्या ५८ पुगेको छ । “परीक्षणका क्रममा टेम्केमैयुङ गाउँपालिका भित्र सङ्ख्या दैनिक बढी रहेको छ, सो क्षेत्रमा सावधानी अपनाउन जरुरी देखिन्छ ।” सूचना अधिकारी बुढाथोकीले भन्नुभयो । 

यता पालिकाभित्र दिनहुँ संक्रमण दर बढ्न थालेकाले जोखिम नियन्त्रणका लागि पालिका भित्रका विद्यालयहरू बन्द गरिएको छ । गाउँपालिकाको निर्णय अनुसार श्रावण २४ गतेबाट आगामी २९ गतेसम्म सम्पूर्ण विद्यालयहरू बन्द गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजन ढकालले जानकारी दिनुभयो । 

“शिक्षक, विद्यार्थीहरूमा समेत कोरोना पोजेटिभ देखिएकाले वर्षे तथा हिउँदै बिदाबाट मिलाउने गरी विद्यालयहरू बन्द गर्ने निर्णय भएको हो ।” शिक्षा शाखा प्रमुख ढकालले भन्नुभयो । संक्रमण दरमा वृद्धि हुँदै गएकाले सावधानी अपनाउन र खोप लगाउन बाँकीहरूले समेत पूर्ण खोपको मात्रा लगाउन जरुरी देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी बुढाथोकीको भनाई रहेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button