तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा : पर्वतको जलजला घटनाका पीडितलाई राहत माग

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा सांसद पदम गिरीले पर्वत जिल्लाको जलजला–७ धाइरिङ, धारापानीमा सोमबार विद्युत् प्राधिकरणको लापरबाहीका कारण स्थानीय सीता केसीको मृत्यु भएको जानकारी गराउँदै उहाँको परिवारलाई क्षतिपूर्तिको माग गर्नुभएको छ ।

बैठकको सुरुमै सभामुखसँग समय माग गरी सांसद गिरीले भन्नुभयो, “विद्युत् प्राधिकरणको लापरबाही र असावधानीका कारण ११ केपिए प्रसारण विद्युत् गाउँमा पस्दा ५० वर्षीया सीता केसीको मृत्यु भएको छ र यसबाट १३ जना स्थानीय गम्भीर घाइते भएका छन् । मृतकका परिवार तथा घाइतेहरूलाई क्षतिपूर्तिको व्यवस्था होस् ।”

मृतक सीता केसीको परिवारका कम्तीमा एकजना सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने र भौतिक क्षतिको क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने उहाँको माग छ । विद्युत्को भौतिक संरचना बलियो नहुँदा घटना भएको उहाँको भनाइ थियो ।

त्यसैगरी सांसद गिरीले पर्वत जिल्ला कुश्मा नगरपालिका–१० पीपलटारीमा ६४ घरधुरी भएको बस्तीमा भूस्खलन भएको बताउँदै बस्ती संरक्षण गर्नुपर्ने माग गर्नुभयो । भूस्खलनका कारण ६४ मध्ये पाँच घरपरिवार त्यहाँबाट विस्थापित भइसकेको उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button