तपाईँ सुन्दै हुनुहुन्छः

अमलेखगञ्जमा पेट्रोलियम पाईपलाईनको दोस्रो चरणको काम सुरु हुँदै

बीरगंज ।  बाराको अमलेखगंजमा पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको काम छिट्टै सुरु हुने भएको छ । 

नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसन (आईओसी) का अधिकारीहरू बीच गत शुक्रवार र शनिवार भारतमा भएको छलफलमा यस्तो समझदारी भएको नेपाल आयल निगमले जनाएको छ । 

  निगमका नव कार्यकारी निर्देशक सुशील भट्टराई नेतृत्वको टोली र भारतीय अधिकारीबिच भएको छलफलमा भदौ अन्तिमदेखि परियोजनाको दोस्रो चरणका काम थाल्ने प्रतिबद्धता भारतीय अधिकारीहरुले जनाएको वार्तामा सहभागी नेपाल आयल निगमका वितरण विभाग प्रमुख वीरेन्द्र गोइतले बताउनुभयो । 

परियोजनाअन्तर्गत नेपालतर्फको पाइपलाइनको अन्तिम बिन्दु अमलेखगञ्जमा ४१–४१ हजार लिटरका २ वटा भण्डारण ट्याङ्की निर्माणको काम बाँकी रहेको छ ।

४१ किलोमिटर क्षमताको एउटा ट्याङ्की निर्माणका लागि भारतीय आयल कर्पोरेसन र दोस्रोको लागि नेपाल आयल निगमले लगानी गर्ने समझदारी रहेको छ । 

२ वटा पेट्रोल ट्याङ्कीमा २४ वटा लोड अनलोड–वे निर्माण पनि हुनेछ । दोस्रो चरणको आयोजनाको काम सम्पन्न भएपछि पाइप लाइनमार्फत नेपालमा पेट्रोल ल्याउने बाटो खुल्नेछ । भण्डारण ट्याङ्की निर्माणका लागि आवश्यक प्लेट पाताहरू नेपाल ल्याउने काम आईओसीले सुरु पनि गरिसकेको छ । 

नेपाल र भारतको लगानीमा मोतीहारी अमलेखगञ्ज ६९ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन २०७६ भदौ २४ गतेबाट सञ्चालनमा आएको थियो । 

पाइपलाइन निर्माणका लागि भारतले ५ अर्ब ८८ करोड रुपैयाँ लगानी गरी सकेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button