तपाईँ सुन्दै हुनुहुन्छः

झापाको जोरसिमलमा चेकजाँच बन्द गर्न सशस्त्र प्रहरीलाई अन्तरिम आदेश

भद्रपुर, झापा । झापाको मेचीनगरस्थित जोरसिमलमा रहेको सशस्त्र प्रहरी बलको चेकपोष्टका कारण स्थानीयवासीलाई हैरानी भएको भन्दै अदालतले तत्काल चेकजाँच नगर्न अन्तरिम आदेश दिएको छ ।

मेचीनगर–७ जोरसिमलस्थित महेन्द्र राजमार्गमा राखेको सशस्त्र प्रहरी बलको चेक पोष्टका कारण स्थानीयवासी तथा उपभोक्ताको आवागमनमा समेत हैरानी पुगेको भन्दै सशस्त्र प्रहरी बलविरुद्ध उच्च अदालत विराटनगरमा निवेदन परेको थियो ।

सोही निवेदनका आधारमा उच्च अदालत विराटनगरका न्यायाधीश प्रेम कार्कीको इजलासले मेचीनगर–७ जोरसिमलमा रहेको राजमार्गको चेकपोष्टमा तत्कालको लागि जाँच नगर्न अन्तरिम आदेश दिएको हो । उक्त चेकपोष्टमा सशस्त्र प्रहरी बलको काँकरभिट्टा आउट बोर्डर पोष्ट (बीओपी) को टोलीले जाँच गर्दै आएको छ ।

उक्त पोष्टले चेकजाँचको नाममा स्थानीयवासीलाई हैरानी र दुःख मात्रै दिने गरेको आरोप सशस्त्र प्रहरी बलमाथि छ ।अदालतले सशस्त्र प्रहरी बललाई उक्त स्थानमा चेकपोष्ट राख्नुको लिखित कारण खुलाएर १५ दिनभित्र जवाफ पेश गर्नसमेत आदेश दिएको छ ।

त्योबाहेक निवेदक र सशस्त्र प्रहरी बललाई २६ साउनमा छलफलको लागि अदालत बोलाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button