तपाईँ सुन्दै हुनुहुन्छः

ठेकेदारबाटै ठगिए ३ सय कामदार र व्यवसायी

जुम्ला । ठेकेदारको लेनदेन विवादले नाग्म–गमगडी सडक निर्माणका कामदारले विगत दुई वर्षदेखि ज्याला पाएका छैनन् । सडक निर्माण भएको तीन वर्ष बितिसक्दा पनि ज्याला नदिएर ठेकेदारले ठगेको कामदारहरू बताउनुहुन्छ ।

कामदारहरु

नाग्म–गमगडी सडकको सिञ्जा १ घोडेंगादेखि कनकासुन्दरी ७ रोकाया बाडा सम्मको ६ किमी ७६० मिटर सडक स्तर वृद्धि गर्ने ठेक्का भ्याटसहित ६ करोड ७६ लाख १८ हजार १ सय ८६ रुपैयाँमा (खड्का कृष्ण निर्माण कम्पनी)ले ठेक्का पायो । उक्त निर्माण कम्पनीका प्रतिनिधि तथा ठेकेदार तातोपानी ८ का दिपक शाही हुन् ।

तर, ०७६ चैत ६ गते नेपाली काँग्रेसका सभापति कर्ण बहादुर शाहीले सिञ्जा १ का रण बहादुर रोकायालाई फोन गरी उक्त ठेक्काको सडक निर्माणको जिम्मा दिन अनुरोध गरे । निर्माण सम्पन्नपछि आएको नाफामध्ये ६५ आफु लिने र ३५ प्रतिशत दिने मौखिक सम्झौता गरे । सोही अनुसार ठेकेदार रण बहादुर र दत्त रोकायाले सडक निर्माणको काम गरे । काम लक्ष्यअनुसार नभएपछि बीचमै विवाद भयो ।

ठेकेदार दिपक शाही

विवादपछि कर्ण शाहीसहित काँग्रेसका नेता गुठिज्युलामा बसेर दत्त रोकायालाई ३ करोड ७० लाखमा सडक निर्माणको पुनः जिम्मा दिने सहमति भयो । उक्त सहमति अनुसार दत्त रोकायाले सडक डबल कटिङ, ग्राभेल, मेसिनरी तथा ग्यामिन पर्खाल निर्माण लगायतको काम गरे । त्यो बीचमा दिएको बिल पनि कुनै भुक्तानी नभएको रोकाया बताउनुहुन्छ ।

मुख्य ठेकेदार दिपक शाही र कर्ण शाहीले काम अनुसारको पैसा नदिएको र विवाद गरेपछि ०७८ जेठपछि आफु बीचमै काम छोडेको दत्त रोकायाको भनाई छ । तर, यता मुख्य ठेकेदार दिपक शाही ०७६ चैतदेखि ०७८ जेठसम्म गरेको काम अनुसारको २ करोड ९० लाख ७७ हजार भुक्तानी दिएको दाबी गर्छन् ।

ठेकेदार रण बहादुर रोकाया

तर यता दत्त रोकाया अहिलेसम्म आफूले २ लाख ५० हजार मात्रै पाएको र काम अनुसार १ करोड ५१ लाख रकम भुक्तानी पाउनुपर्ने दाबी गर्नुहुन्छ ।

ठगिए ३ सय कामदार र व्यापारी
सडक डिभिजन जुम्लाका निमित्त प्रमुख विरेन्द्र रावलका अनुसार निर्माण कम्पनीले हालसम्म ५ करोड ८९ लाख ३१ हजार ९ सय ६९ रुपैयाँ ६२ पैसा भुक्तानी लिएको छ भने अब ८६ लाख ९७ हजार ३१ रुपैयाँ ४१ पैसा भुक्तानी लिन बाँकी छ ।

सडक स्तर वृद्धि गर्दा ठेकेदार दत्त रोकायाले सयौँ कामदारलाई काम लगाएका थिए भने दर्जनौँ व्यापारीबाट निर्माण सामाग्री ल्याएका थिए । पछि दिपक शाहीले पनि सयौँ कामदार लगाए भने व्यापारीबाट सामान पनि किने । तर, अहिले विवादका कारण झण्डै ३ सय बढी कामदार र दर्जनौँ व्यापारीले ३ वर्षदेखि भुक्तानी पाएका छैनन् ।

कामदारहरु

कामदार सिञ्जा २ का राजेन्द्र गिरी मेसिनरी वाला निर्माण, ग्यामिन जाली निर्माण गरे बापत पाउनुपर्ने साँढे ६ लाख रुपैयाँ नपाएको बताउनुहुन्छ । त्यस्तै सिञ्जा १ की चन्द्रमाया रोकायाले मेसिनरी वाल निर्माणमा काम गरेबापत दत्त रोकायाबाट पाउनुपर्ने झण्डै ११ लाख तीन वर्ष बितिसक्दा पनि सुक्को नपाएको गुनासो गर्नुभयो ।

त्यस्तै सिञ्जा गाउँपालिका १ का पृथ्वी बहादुर रोकायाले ठेकेदार दिपक शाही मार्फत सडक निर्माणको ५ हजार अहिले सम्म पाएका छैनन् ।

दिपक शाहीले मुद्दा परेका कारण पैसा होल्ड भएको खाता रोक्का भएकोले पैसा दिन नसकेको बताउने गरेको कामदार सर्जन तिरुवाले बताउनुभयो ।

साइट इन्चार्ज जनक शाहीका अनुसार ३ सय कामदार तथा २५ जना नाइकेले एक वर्षदेखि ज्याला पाएका छैनन् । दोस्रो पक्षले बढी पैसा पाउनु पर्छ र पहिलो पक्षले कम पाउने भन्ने विषयमा विवाद भएपछि दत्त रोकाया पक्षले जिल्ला अदालत जुम्लामा मुद्दा समेत दर्ता गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button