तपाईँ सुन्दै हुनुहुन्छः

देश विकासका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्छ : मन्त्री बडू

दार्चुला । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले देश विकासका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताउनुभएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी दार्चुला शाखा कार्यालयको आज उद्घाटन गर्नुहुँदै मन्त्री बडूले आफ्नो जिल्ला र देशको विकासका लागि राजनीतिक आस्थाभन्दा माथि उठेर सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

उहाँले दार्चुला जिल्ला भौगोलिक रुपमा समेत संवेदनशील ठाउँमा रहेकाले यहाँकै जनप्रतिनिधिको हिसाबले आफू र सिङ्गो सरकार गम्भीर रहेको बताउनुभयो ।

२०५० देखि २०६२ सालसम्म सञ्चालन रहे पनि २०६३ देखि बन्द भएको कम्पनीको शाखा कार्यालय पुनः सञ्चालनमा ल्याउनु सुखद् सुरुवात भएको बताउनुहुँदै उहाँले कार्यालयको स्थापनापछि खाद्य आपूर्ति मात्र नभई यस क्षेत्रको उत्पादनलाई बजारीकरण गर्नसमेत महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले साबिक ५ स्थानमा डिपो र वितरण केन्द्रमार्फत सहुलियत मूल्यमा खाद्यान्न वितरण हुँदै आएकोमा आफू मन्त्रालयको जिम्मेवारीमा आएपछि थप ७ वटा स्थानमा डिपो स्थापना गरिएको जानकारी दिनुभयो ।

मन्त्री बडूले दार्चुला र भारतलाई जोड्न महाकाली नदीमा मोटरेबल पुल बनाउन टेन्डर आह्वान भइसकेको र महाकाली करिडोर निर्माणका लागि नेपाली सेनाले आवश्यक काम गरिरहेकोले यी दुवै काम सम्पन्न भएमा दार्चुला र यस क्षेत्रको व्यापार तथा समग्र विकासमा अभूतपूर्व उपलब्धि हासिल हुने भएकोले स्थानीय प्रशासन र राजनीतिक दलको सचेततापूर्वक योगदानका लागि आग्रह गर्नुभयो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दको अध्यक्षतामा भएको कार्यक्रममा कम्पनीका सञ्चालक समिति सदस्य श्याम भट्ट, दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, महाकाली नगर प्रमुख नर सिंह चैसिर, मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामी, नेपाली काँग्रेसका जिल्ला सभापति ललित सिंह बोहरा, नेकपा (एमाले)का अध्यक्ष प्रेम सिंह धामी, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष खडक धामी लगायतको उपस्थित रहेको थियो ।

उद्घाटन कार्यक्रमका वक्ताहरूले २०६३ सालदेखि बन्द रहेको शाखा कार्यालय पुनःसञ्चालन गर्न पहल गर्नुभएकोमा मन्त्री बडूलाई धन्यवाद दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button