तपाईँ सुन्दै हुनुहुन्छः

दक्षिण कोरियाको अस्पताल भवनमा आगलागी हुँदा पाँच जनाको मृत्यु, ४४ घाइते

सोल। अस्पताल रहेको एउटा भवनमा आगलागी हुँदा दक्षिण कोरियामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

मृत्यु भएकामध्ये चार जना विरामी र एक जना नर्स रहेको अधिकारीहरुले जानकारी दिएका छन् । अस्पतालमा आगलागी भएको बेलामा ३३ विरामी र १३ स्वास्थ्यकर्मी रहेका थिए ।

इचेओनमा भएको घटनामा परी अरु ४४ जना घाइते भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

घटनास्थल राजधानी सियोलदेखि ५० किलोमिटर टाढा पर्दछ । चार तले भवनको सबैभन्दा माथिल्लो तलमा स्थानीय समय अनुसार विहान १०.१७ मा आगलागी भएको अधिकारीहरुले जनाएका छन् ।

सो भवनको चौथो तलामा अस्पताल थियो भने दोस्रो र तेस्रो तलामा कार्यालय र पहिलो तलामा रेस्टुरेन्ट रहेको थियो ।

आगालागी भएपछि आगो नियन्त्रण गर्न ३८ अग्नि नियन्त्रक ट्रक र १०८ जना उद्धारकर्ता परिचालन गरिएको थियो । उनीहरुले ११.२९ मा आगो नियन्त्रणमा लिएका थिए ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button