तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा थपिए सात हजार ५४ नयाँ मतदाता

तनहुँ । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले आजदेखि मतदाता नामावली सङ्कलन बन्द गर्ने जनाएको छ । 

सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो मङ्सिर ४ गते गर्ने निर्णय गरेसँगै मतदाता नामावली सङ्कलन बन्द हुने भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

गत १ असारबाट सुरु गरिएको मतदाता नामावली बिहीबार बेलुका ५ बजेबाट नै बन्द भएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । 

तनहुँमा बिहीबार बेलुकासम्म सात हजार ५४ जनाको फोटो सहितको मतदाता नामावली दर्ता भएको छ । 

आसन्न प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरि सङ्कलन गरिएको नामावली दर्तामा जिल्ला जिल्ला निर्वाचन कार्यालय तनहुँमा एक हजार ७ सय १४ महिला र  एक हजार ९ सय ३५ पुरुष गरि तीन हजार ६ सय ४९ जना तथा जिल्ला प्रशासन कार्यालय तनहुँमा एक हजार ६ सय ९८ जना महिला र एक हजार ७ सय ७ पुरुष गरि सात हजार ५४ जनाले नामावली दर्ता गराएका हुन् । 

स्थानीय तहको निर्वाचन २०७९ मा तनहुँमा २ लाख ४४ हजार ३ सय ४० मतदाता रहेका थिए । जसमध्ये एक लाख १७ हजार १ सय ३४ पुरुष र एक लाख २७ हजार २ सय६ महिला मतदाता रहेका थिए । 

स्थानीय निर्वाचनको मिति घोषणासँगै असार १ गतेसम्म मतदाता नामावली दर्ता कार्य रोकिएको थियो । 

तनहुँमा जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय गरि दुई स्थानबाट मतदाता नामावली दर्ता हुँदै आएको ढकालले जानकारी दिनुभयो । 

उहाँले स्थानीय निर्वाचनपछि मतदाता नामावली दर्ता गर्नेहरूमा विशेष आकर्षण देखिएको बताउनुभयो । 

राजनीतिक दलका कार्यकर्ताले नामावली दर्ता नभएकाहरूलाई जिल्लाका विभिन्न स्थानबाट बस रिजर्भ गरेर कार्यालयसम्म लैजाने गरेका थिए । 

यो अवधिमा तनहुँका दुई स्थानमा अन्य जिल्लाका सात हजार ४ सय १४ जनाको समेत नामावली दर्ता गरिएको छ । 

यो अवधिमा देशैभरि करिब पाँच लाखभन्दा बढीले नामावली दर्ता गराएको निर्वाचन आयोगको भनाइ छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button