तपाईँ सुन्दै हुनुहुन्छः

त्रिशुली नदीकै सबैभन्दा लामो पुल सञ्चालनमा ल्याउने तयारी

धादिङ। त्रिशूली नदी माथि निर्माणाधीन पुलहरू मध्यकै सबैभन्दा लामो पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दुई सय मिटर लम्बाइको सो पक्की मोटरेवल पुल २०७४ सालदेखि निर्माणको काम सुरु भएको हो ।

पुल नहुँदा पृथ्वी राजमार्गसम्म आवतजावत गर्नका लागि निकै समस्या भोग्दै आएका सिद्धलेक गाउँपालिकाका स्थानीय पुल निर्माणको काम अन्तिम पुगेसँगै निकै खुसी भएका छन् । पुल सञ्चालनमा आएपछि सो क्षेत्रका स्थानीयको आर्थिक अवस्था सुधारमा पनि निकै सहज हुने उनीहरूको भनाई छ ।

पृथ्वी राजमार्गलाई सिद्धलेक गाउँपालिकासँग सिधै मोटर सञ्चालनका लागी गत पाँच वर्ष अघिदेखि निर्माणाधीन अवस्थामा रहेको सो पुलबाट आगामी दसैँदेखि मोटर सञ्चालनको तयारी भइरहेको निर्माण कम्पनीले जानकारी दिएको छ ।

जिल्लाभित्र पर्ने त्रिशूली नदी वारपार गर्नका लागी विभिन्न स्थानहरूमा सातवटा पक्की मोटरेवल पुल निर्माण भएको छ । ती पुलहरूमध्ये सबैभन्दा लामो गजुरी गाउँपालिकाको घाटवेसीलाई सिद्धलेक गाउँपालिकास्थित पिपलटार जोड्नका लागी पाँच वर्षदेखी निर्माण सुरु गरेको सो पुल दुई सय मिटर लम्बाइको छ ।

उक्त पुल निर्माणको काम पन्चानब्बे प्रतिशत भन्दा धेरै सम्पन्न भइसकेको छ । अब पुलको बार राख्ने काम धमाधम भइरहेको छ भने पुलको स्पान ढलानको काम थोरै मात्र बाँकी रहेको छ । पुलको दायाँबायाँ पर्ने एक्सीस रोड निर्माणको काम समेत तीव्र गतिमा भइरहेको छ ।

पुल निर्माण सम्पन्न भएसँगै सो क्षेत्रमा उत्पादित कृषि तथा पशुजन्य उत्पादन सिधै बजारमा बिक्रीका लागि ल्याउन सजिलो हुने भन्दै तरकारी उत्पादक किसानहरू पनि निकै हर्षित भएका छन् । सिद्धलेक गाउँपालिकास्थित पिपलटारका स्थानीयहरूको मुख्य पेशा तरकारी उत्पादन रहेको छ ।

पुल निर्माणका लागी नेपाल सरकार सडक विभागले तीस करोड रुपैयाँको लागतमा महादेव खिम्ती निर्माण सेवा नामक ठेकेदार कम्पनीलाई जिम्मा दिइएको हो ।

२०७४ सालमा तीन वर्षमा निर्माण सम्पन्न गरी निर्माणको जिम्मा दिइएको सो कम्पनीले कोभिडलगायत विभिन्न कारण देखाई निर्माणको काममा ढिलाइ गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button