तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा विभाजनको मूल कारण को हो, डा सापकोटाको पुस्तकले भन्छ : माधव नेपाल

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा विभाजनको मूल कारण को हो भनेर लेखक डा ढाकाराम सापकोटाको पुस्तक (दस्ताबेज)ले स्पष्ट पारेको बताउनुभएको छ ।

राजधानीमा आयोजित डा सापकोटाको ‘नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकतादेखि विभाजनसम्म’ पुस्तक लोकार्पण समारोहमा अध्यक्ष नेपालले उक्त पुस्तक इतिहासको दस्ताबेज भएको बताउनुभयो ।

पुस्तकको चर्चा गर्ने क्रममा अध्यक्ष नेपालले पुस ५ गतेको घटनाक्रम स्मरण गर्नुभयो । उहाँका अनुसार सोही दिन बालुवाटारमा नेकपाको बैठक चलिरहेका बेला प्रतिनिधिसभा भङ्ग गर्ने गरी राष्ट्रपतिकहाँ चिठी पठाइएको थियो ।

उक्त सूचना आएपछि बैठकले त्यस घटना असंवैधानिक भएको भन्दै निन्दा गर्ने प्रस्ताव पारित गरेको अध्यक्ष नेपालले बताउनुभयो । पार्टी एकताका लागि अन्तिमसम्म हाम्रो कोसिस कतिसम्म भएको थियो भन्ने कुरा त्यस दिनको घटनाले देखाउने उल्लेख गर्दै अध्यक्ष नेपालले यो पुस्तकमा त्यस घटनाक्रमलाई स्पष्ट रूपमा पढ्न सकिने पनि बताउनुभयो ।

त्यसपछि सम्पूर्ण निर्णय गर्ने अधिकार एक व्यक्तिमा राखिएको पनि उहाँले सुनाउनुभयो । उहाँले तत्कालीन समयमा पार्टी व्यक्तिवादको चरम आहालमा डुबेको जिकिर गर्नुभयो । मुलुकको कम्युनिष्ट राजनीतिक आन्दोलन निकै उतारचढावका बीच यहाँसम्म आइपुगेको स्मरण गर्दै अध्यक्ष नेपालले पुस्तकको अर्को संस्करण निकाल्दा ती दस्ताबेजलाई तिथिमितिसहित बुँदागत रूपमा राख्न लेखकलाई सुझाव दिनुभयो ।

तत्कालीन नेकपाका एक जना अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीतर्फ सङ्केत गर्दै उहाँले इतिहासमा गल्ती गरेर पनि अझै महसुस नगरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कसैले गल्ती भयो भनेर महसुस गर्छ भने केही छैन, तर आजसम्म सुन्न पाइएको छैन ।”

फरक सन्दर्भ जोड्दै अध्यक्ष नेपालले ७० वर्षमा राजनीति नै छाडौँ भन्ने लागे पनि परिस्थितिले छाड्न नदिएको बताउनुभयो । उहाँले भन्नुभयो, “चुनावको मिति घोषणा भइसक्यो, यसपालिको चुनावमा लड्नैपर्र्छ र जित्नैपर्छ, अब पनि चुनावमा नउठ्ने भन्ने कुरा भएन, डराएछ कि क्या हो माधव नेपाल भन्ने पर्ला, चुनावमा विजयी भएर तपाईँहरूको बीचमा फेरि आउनुपर्छ ।”

उहाँले कसैको काम नै निषेधको राजनीति गर्ने भएकाले घृणा पैदा गर्ने र नकारात्मक प्रचार गर्ने तत्त्व कायमै रहेको पनि बताउनुभयो ।

उक्त कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का नेता डा बेदुराम भुसालले तीन वर्षको नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासको पाटोलाई डा सापकोटाको पुस्तकले केलाउने प्रयास गरेको बताउनभयो ।

डा भुसालले एकताका सन्दर्भ, एकतापछि भएका निर्णय, पार्टीभित्रका विवाद र त्यसपछि प्रस्तुत भएका दस्ताबेज पुस्तकमा सङ्ग्रह गरिनु नै महत्त्वपूर्ण हो भन्नुभयो । डा भुसालले थप्नुभयो, “म आफैँ तत्कालीन नेकपाको स्थायी कमिटी सदस्यको हैसियतले सबै विवादमा संलग्न छु, तर पुस्तकमा समावेश भएका कतिपय चिज मसँग पनि छैन कि जस्तो लाग्ने खालको छ ।”

एक स्रष्टा इन्दु आचार्यले वामपन्थी आन्दोलनले आफूलाई स्थापित गर्ने अवसर विसं २०४६ पछि मदन भण्डारीले जबजको अवधारणा प्रतिपादन गरेसँगै एकपटक प्राप्त गरे पनि उहाँको निधनले संस्थागत हुन नसकेको उल्लेख गर्नुभयो ।

उहाँले दोस्रो अवसरका रूपमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकीकरणबाट फेरि फर्किएको भए पनि नेतृत्वमा रहेकाको अधिनायकवादी शैली, आपसी लडाईं, अति अहङ्कार नै प्रमुख कारण सफल नभएको तीतो सत्यलाई पुस्तकले अझै मिहीनरूपमा प्रस्तुत गरेको भए नेपालको भावी वामपन्थी पुस्ताका लागि धेरै उपयोगी हुने टिप्पणी गर्नुभयो ।

लेखक डा सापकोटाले आफूले समेटेका सबै कुरा सत्यतथ्य स्रोतमा आधारित भएर लेखेको जानकारी दिँदै त्यसमा कुनै पूर्वाग्रह नराखिएको प्रष्ट्याउनुभयो । दस्ताबेज सङ्कलन गर्न जाँदाका कठिनाइबारे समेत उहाँले जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button