तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनको मिति तय भएको छ, हामी खुसी छौँ : उपाध्यक्ष नेम्वाङ

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले निर्वाचनको मिति तय भएकोमा प्रसन्नता प्रकट गर्नुभएको छ । 

प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, “निर्वाचनको मिति तय भएको छ, हामी खुसी छौँ । तर यस्ता महत्त्वपूर्ण विषयमा देशका प्रमुख दललाई थाहा हुनपर्छ ।” 

हाम्रो संविधानले मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेको जनाउँदै उहाँले हरेक गठबन्धन र तालमेल संसदीय मूल्य मान्यता बमोजिम हुनुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो । लोकप्रिय मतका आधारमा गत स्थानीय निर्वाचनमा एमाले पहिलो स्थानमा रहेको प्रसङ्ग उहाँले उल्लेख गर्नुभयो ।  

“हामीले समयमै निर्वाचन घोषणा हुनुपर्छ भनेको थियौँ । घोषणा गरेको मितिमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनुपर्छ भन्ने नै हाम्रो चाहना हो । त्यस कुरामा हाम्रो सहयोग रहन्छ”, उहाँले भन्नुभयो ।

निर्वाचनमा आफ्ना एजेण्डा लिएर जनताका बीचमा जान एमालेले तयारी गरेको जनाउँदै उहाँले आउने निर्वाचनमा जनताको आर्शिवाद रहनेमा विश्वस्त रहेको बताउनुभयो । 

“आवधिक निर्वाचन घोषणा भएको छ अब जनताले फैसला गर्नेछन् । निर्वाचनमा हामीले उत्साहपूर्वक सहभागी हुनु छ”, उपाध्यक्ष नेम्वाङले भन्नुभयो । 

पार्टीले निर्वाचनको तयारीका क्रममा विभिन्न प्रदेशमा प्रशिक्षण चलाइरहेको बताउँदै उहाँले दृढ विश्वासका साथ जनताका बीचमा जाने तयारीमा रहेको उल्लेख गर्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button