तपाईँ सुन्दै हुनुहुन्छः

सूर्यविनायकको गुण्डुमा द्वारकाधाम  निर्माण हुने

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित पाथीभरा मन्दिर परिसरमा नेपालमै पहिलो द्वारकाधाम  निर्माण हुने भएको छ । 

श्रीमद् भागवत तथा गौ संरक्षण केन्द्रले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पश्चिम भारतको गुजरातमा रहेको प्रसिद्ध द्वारकाधाम जस्तै नेपालमा पनि सूर्यविनायकको गुण्डुमा द्वारकाधाम बन्ने बताइएको हो ।

सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुको पाथीभरा मन्दिर परिसरमा नेपालकै पहिलो द्वारकाधाम निर्माण कार्य सुरु गर्न लागेको गुण्डुस्थित पाथीभरा मन्दिरका मूल गुरु अरविन्द शास्त्रीले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा शास्त्रीले भन्नुभयो, “भक्तपुरको गुण्डुमा २०७५ सालमा पाथीभरा मन्दिर निर्माण गरेर यहाँको धार्मिक विकासमा टेवा पुर्‍याएका छौँ, अब पाँच वर्ष भित्र भारतको जस्तै आकृतिमा नेपालमै पहिलो पटक द्वारकाधाम  निर्माण गर्न लागेका छौँ, यसले धार्मिक पर्यटनको समेत विकासमा टेवा दिनेछ ।”

यहीँ साउन २५ गते शिलान्यास हुने द्वारकाधाम  यहाँका करिब आठ रोपनी क्षेत्रफलमा करिब १० करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने गुरुयोजनाका साथ कार्य अगाडि बढाएको उहाँले बताउनुभयो ।

द्वारकाधाम मन्दिर मात्रै तीन रोपनी क्षेत्रफलमा फैलिने बताउँदै उहाँले भारतको द्वारकाधाममै मन्दिरको मुख्य मूर्ति निर्माण कार्य सुरु भइसकेको उहाँको बताउनुभयो । 

उहाँले तीन वटै सरकार र दाताहरूबाट सङ्कलन हुने रकमबाट मन्दिर निर्माण गर्ने लक्ष्य राखेको बताउनुभयो । द्वारकाधामसँगै पाथीभरा मन्दिर परिसरमा सबै गोत्रका ऋषिहरू मूर्ति स्थापना गरिने बताउनुभयो ।

पत्रकार सम्मेलनमा सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले भक्तपुरको गुण्डुमा पाथीभरा मन्दिर निर्माण भएपछि नयाँ पर्यटकीय गन्तव्य बनेको बताउँदै द्वारकाधामको निर्माणले यहाँको क्षेत्रमा धार्मिक पर्यटनको विकास हुने र द्वारकाधामको दर्शन गर्न भारत गइरहनु नपर्ने बताउनुभयो । उहाँले द्वारकाधाम निर्माणका लागि वडा तथा नगरपालिकाले निरन्तर सहयोग गर्दै आएको र निरन्तर आवश्यक सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा गौ संरक्षण केन्द्रका अध्यक्ष नारायण न्यौपानेले ताप्लेजुङको पाथीभरा मन्दिरमा २०७२ सालमा पाँच वर्षको अखण्ड दीप प्रज्वलन गरि २०७५ सालमा सवा करोड बत्ती बालेर नेपालकै ठूलो त्रिशूल जगाएर ल्याएर गुण्डुमा पाथीभराको मन्दिर निर्माण स्थलमा स्थापना गरेको बताउनुभयो । 

उहाँले पाथीभरा जस्तै द्वारकाधाम निर्माण गर्ने, गौ अर्थात् गाईहरूको संरक्षण गर्ने संस्कृत विद्यालय स्थापना गर्ने र धार्मिक क्षेत्रको विकास गर्ने लक्ष्यका साथ अभियान सुरु गरेको बताउनुभयो । 

उहाँले द्वारकाधाम निर्माणमा आर्थिक तथा भौतिक सहयोग गरेर पुण्य कार्यमा मेरो पनि लगानी छ भन्ने आधार तय गर्दै दाताहरूलाई सहयोग गर्न आव्हान गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button