तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा आत्महत्याका घटना बढ्दै, डिप्रेसन मुख्य समस्या

सल्यान । सल्यानमा पछिल्ला वर्षमा आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको पाइएको छ । 

प्रत्येक बर्ष जिल्लामा आत्महत्याको सङ्ख्यामा वृद्धि हुँदै आएको पाइएको हो । 

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार गत आर्थिक वर्षमा सल्यानमा ५४ वटा आत्महत्याका घटना घटेका छन् । 

गएको चालु आर्थिक बर्ष २०७८÷०७९ मा जिल्लामा ३३ जना पुरुष र २१ जना महिलाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । 

सबैभन्दा बढी झुन्डिएर ४२ जनाले आत्महत्या गरेका छन् भने ११ जनाले विष सेवन गरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता तथा प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी दिनुभयो । 

उहाँका अनुसार आत्महत्या गर्नेमा बालबालिका पनि रहेका छन् । 

“धेरै आत्महत्या त मानसिक रोगका कारण हुने गरेको छ”, उहाँले भन्नुभयो, “पारिवारिक कलह, नैराश्यता, बेरोजगारी,  आदीका कारण आत्महत्या गर्ने पनि छन् ।” 

मादक पदार्थ, गरिबी, प्रेममा धोका, असफलता, तनावका कारण पनि आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्कले देखाएको उहाँले बताउनुभयो । 

त्यस्तै, सामाजिक कारण गोपनीयता भङ्ग, बेइज्जती असफल प्रेम सम्बन्ध, घरेलु हिंसा, श्रीमान् श्रीमतीबीचको भौतिक दूरी, वैदेशिक रोजगार, अशान्त घर, तनावपूर्ण सम्बन्ध र इगो जस्ता कारणहरूले पनि आत्महत्याका घटनाहरू बढिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक खनालले बताउनुभयो । 

आत्महत्याका घटना बढ्दै जानुको मुख्य कारण मानसिक रोग देखिएको सल्यान जिल्ला अस्पताल सल्यानका डा.अविशेष सिंहले बताउनुभयो । 

उहाँले अस्पतालमा धेरै जसो मानसिक रोगका बिरामी उपचार गराउन आउने गरेको बताउनुभयो । समाजमा मानसिक रोगका बिरामी धेरै भएकाले अझै पनि यस्ता बिरामी खुलेर बाहिर आउन नसकेको डा. सिंहले बताउनुभयो । 

उहाँका अनुसार प्रायःजसो उदासीपन, निर्णय लिन अक्षम, आर्थिक अभाव, मानसिक र दीर्घ रोग, दुर्व्यसन र मादक पदार्थ सेवनलगायत कारण मानिसले सजिलै आत्महत्याको बाटो रोज्ने गरेको देखिएको छ । 

आत्महत्या गर्नेमा २० देखि ४५ बर्ष उमेर समूहका बढी देखिएको उहाँले बताउनुभयो । यस्ता घटना हुन नदिन र मानसिक रोगका बिरामीको  समयमै उपचार तथा रोकथाम गर्न सकिएन भने आगामी दिनमा जटिल समस्या आउन सक्ने डा.सिंहले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button