तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा ८६ प्रतिशत रोपाइँ, अझै पनि मलको अभाव

तनहुँ । तनहुँमा यस वर्ष ८६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । 

असारमा वर्षा भएकाले रोपाइँ भएको कृषि ज्ञान केन्द्र तनहुँका निमित्त प्रमुख राजेश्वर सिलवालका अनुसार पछिल्लो केही दिनयता पनि वर्षा भइरहेकाले पनि थप बढ्ने अनुमान रहेको छ ।

तनहुँका ठूला फाँट सत्रसय, सेपाबगैँचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगे फाट लगायतका स्थानमा रोपाई भइरहेको केन्द्रले जनाएको छ । 

यहाँका किसानले राधा, सावित्री रामधान, सुगन्ध मसिनो, अनदी, सुनौलो सुगन्ध, मकवानपुर लगायतका धान लगाउँदै आएका छन् ।

केन्द्रका अनुसार जिल्लामा ११ हजार ५ सय हेक्टर जग्गामा धान खेती गरिँदै आएको छ । त्यसमध्ये दुई हजार ५०० हेक्टर क्षेत्रफलमा चैतेधानको रोपाइँ हुने गरेको छ । 

गत वर्ष ११ हजार २७९ हेक्टर खेतमा धान खेती गरिएकामा ४४ हजार सात ८२ मेट्रिकटन धान उत्पादन भएको थियो ।

किसानले यस वर्ष युरिया र डिएपी मलको प्रयोगबिना नै धान रोप्न बाध्य भएका छन् । अवैधरुपमा व्यापारीले ल्याएका मल सीमित किसानले चर्को मूल्य तिरेर भए पनि खेतमा प्रयोग गरेका थिए ।

किसानले खेत रोप्ने समयमा मल नपाएपछि धान उत्पादनमा कमी आउन सक्ने देखिएको छ । मल अभाव हुँदा धेरै रोपाइँ गर्न नसकेको व्यास–११ का किसान सुजन दरै बताउनुहुन्छ ।

जिल्लामा मल अभाव हुँदा किसानलाई समस्या भएको छ । तनहुँमा गत फागुनदेखि नै युरिया मलको मौज्दात सकिएको कृषि सामग्री संस्थान दमौलीले जनाएको छ । 

तनहुँ र लमजुङका कृषकका लागि मल उपलब्ध गराउँदै आएको संस्थानमा डिएपी मलको मौज्दात नभएको संस्थानका प्रमुख दिनेश शर्माले जानकारी दिनुभयो ।

अहिले संस्थानसँग ४५ टन पोटासबाहेक अन्य मल छैन । 

जिल्लामा एक हजार टन युरिया र छ सय टन डिएपी मल यस मौसममा आवश्यक पर्ने सो संस्थानले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button