तपाईँ सुन्दै हुनुहुन्छः

मध्य तराइमा धान रोपाई अन्तिम चरणमा

वीरगञ्ज । साउनको पहिलो सातादेखि नै पर्याप्त वर्षा हुनुका साथै गण्डक नहरमा समेत भारतले पानी छाडेपछि मध्य तराईको बारा, पर्सा, रौतहटमा धान रोपाई अन्तिम चरणमा पुगेको छ ।

वर्षा पनि नहुँदा र नहरमा पनि पानी नआउँदा किसानले रोपाइँ गर्न सकेका थिएनन् । धान बालीको सिजनमा गण्डक नहरको पानी १२ नम्बर ब्लकसम्म पुगेको छ ।

नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका सूचना अधिकृत इन्जिनियर सुबोध कुशवाहाका अनुसार एक सातायता नहरमा ६ सय क्युसेक हाराहारीमा पानी आउन थालेपछि नहरको ब्लक नम्बर १२ अर्थात् बारा र रौतहटको सीमा बंकुलसम्म पानी पुगेको हो ।

यसअघि नहर पर्ने भारतीय भूमिमा ८० आरडीमा किनारबाट लिकेजको समस्या आएको थियो । समस्या समाधान गरेपछि भारतले हाल नहरमा ६ सय क्युसेकसम्म पानी दिएको कुशवाहाले बताउनुभयो ।

भारतसँगको गण्डक सम्झौताअनुसार बर्सेनि धान बालीका लागि असार १५ र गहुँ बालीका लागि पुस १० देखि नहरमा ८ सय ५० क्युसेक पानी दिनुपर्ने प्रावधान रहेको छ । तर, डेढ साताअघि पनि नहरमा ३ सय ५० देखि ४ सय क्युसेक हाराहारीमा मात्र पानी आएको थियो । एक सातायता नियमित वर्षा भइरहेकाले नहरमा पनि पानीको प्रवाह बढेको हो ।

नहरमा आश्रित पर्सा र बाराको पूर्वी भेग तथा रौतहटको पश्चिमी भेगका किसानले पनि रोपाइँ सम्पन्न गरिसकेको कुशवाहाले बताउनुभयो । आजसम्म बारा, पर्सा रौतहटमा धान खेती हुँदै आएको ९८ प्रतिशत क्षेत्रमा रोपाई सम्पन्न भएको कुशवाहाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button