तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय पाठ्यक्रम ‘हाम्रो राप्तीसोनारी’ लागू

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाले स्थानीय पाठ्यक्रम ‘हाम्रो राप्तीसोनारी’ यसै शैक्षिक सत्रदेखि लागू गरेको छ । पाठ्यक्रम निर्माण तथा लेखन समितिले तयार पारेको पाठ्यक्रमलाई अन्तिम रूप दिई ‘हाम्रो राप्तीसोनारी’ कक्षा १ देखि ८ सम्म लागू गरिएको हो ।

आधारभूत तहको पाठ्यक्रम निर्माणका लागि गत वैशाखमा पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम विशेषज्ञ युवराज अधिकारी र शिक्षा केन्द्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्व उपसचिव जित बहादुर शाहको प्राविधिक सहयोग तथा गाउँपालिका शिक्षा शाखाका प्रमुख जीवन न्यौपानेको संयोजकत्वमा ३० सदस्यीय समिति बनेको थियो ।

समितिले ६ महिनामा पाठ्यक्रम निर्माण गरेर अन्तिम रूपमा दिएको हो । सात वटा विषय समेटेर निर्माण गरिएको पाठ्यक्रम राप्तीसोनारीका विद्यालयमा लागू गरिएको न्यौपानेले बताउनुभयो । ‘हाम्रो राप्तीसोनारी’ पाठ्यक्रममा हाम्रा संस्कृति र सम्पदा, हाम्रो पेशा व्यवसाय र प्रविधि, हाम्रो वातावरण, हाम्रो राप्तीसोनारीको परिचय, खुसीका लागि शिक्षा, जीवनोपयोगी सीप र विपद् व्यवस्थापनका विषय समेटिएको शिक्षा शाखा प्रमुख न्यौपानेले बताउनुभयो ।

संविधानको मर्म अनुसार निर्माण भएको पाठ्यक्रम पाठ्यपुस्तकका रूपमा विद्यालयहरूमा अध्ययन सुरु गरिएको गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button