तपाईँ सुन्दै हुनुहुन्छः

‘सार्वजनिक यातायातमा ४० प्रतिशत महिलामाथि हिंसा’

काठमाडौँ । सार्वजनिक यातायातमा ४० प्रतिशत महिलामाथि हिंसा हुने गरेको अध्ययनले देखाएको छ ।

महिला पुनर्स्थापना केन्द्रले आज सार्वजनिक गरेको अध्ययनअनुसार सार्वजनिक स्थानमा हुने हिंसामध्ये सबैभन्दा बढी ४० प्रतिशत महिलाले सार्वजनिक यातायातमा र त्यसपछि ११ प्रतिशत महिलाले खेलमैदान, पार्क लगायतका सार्वजनिक स्थानमा हिंसा खेप्नुपरेको हो ।

त्यस्तै ९ प्रतिशत महिला तथा किशोरीले विद्यालयमा, ७ प्रतिशतले भिडभाडमा र २ प्रतिशत महिलामाथि कार्यस्थलमा हिंसा हुने गरेको अध्ययनले देखाएको छ ।

अध्ययनअनुसार सार्वजनिक स्थानमा हिंसा गर्ने २६ प्रतिशत अपरिचित पुरुष हुने गरेका छन् भने १३ प्रतिशत सेवा प्रदायक र १२ प्रतिशत शिक्षक, सहकर्मी र साथी हुने गरेका छन् ।

हिंसामा पर्नेमध्ये कतिपय जनप्रतिनिधि महिला समेत रहेको तथ्याङ्कले देखाएको छ ।

त्यस्तै दलित महिला प्रतिनिधिले दलित भएकै कारण समकक्षीभन्दा फरक व्यवहार गर्ने गरेको पनि अध्ययनमा उल्लेख गरिएको छ ।

सार्वजनिक स्थानमा हिंसा भोग्ने ३५ प्रतिशत महिलाले हिंसा सहेर बस्ने गरेको र २ प्रतिशत महिलाले मात्रै सम्बन्धित निकायमा उजुरी गर्ने गरेको अध्ययनले देखाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button