तपाईँ सुन्दै हुनुहुन्छः

अर्थतन्त्रसँग सम्बन्धित विधेयक अघि बढाउन सभामुखको ध्यानाकर्षण

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले प्रतिनिधि सभामा विचाराधीन रहेका अर्थतन्त्रसँग सम्बन्धित विभिन्न विधेयकहरूलाई अघि बढाउन सभामुख अग्नि सापकोटाको ध्यानाकर्षण गराएको छ ।

सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा मङ्गलवार भएको भेटवार्तामा चेम्बरले अर्थतन्त्रसँग सम्बन्धित विभिन्न एघार वटा विधेयकहरू अघि बढाउन सभामुख सापकोटाको ध्यानाकर्षण गराएको हो ।

भेटमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहित पदाधिकारीले सभामुख सापकोटासँग विचाराधीन अवस्थामा रहेका धेरै विधेयक रोकिँदा निजी क्षेत्रसँग सम्बन्धित कतिपय समस्या सम्बोधन हुन नसकेको बताउनुभएको थियो ।

धितोपत्र सम्बन्धी ऐनलाई संशोधन गर्ने सम्बन्धी विधेयक अर्थ समितिमा छलफलका क्रममा र बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ लाई संशोधन गर्नेसम्बन्धी ऐन अर्थ समितिमा छलफलकै क्रममा रहेको चेम्बरले जनाएको छ ।

बीमासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पनि अर्थ समितिमा छलफलकै क्रममा रहेकाले संघीय निर्वाचनअघि अर्थसँग सम्बन्धित सबै विधेयक पारित गर्नका लागि पहल गरिदिन अध्यक्ष मल्लले आग्रह गर्नुभयो । अध्यक्ष मल्लले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन एवं प्रतिनिधि सभा र संसदीय विभिन्न समितिमा रोकिएका अर्थतन्त्र सम्बन्धित सबै विधेयकहरूलाई संघीय निर्वाचन अघि पारित गराउन पनि सभामुखलाई आग्रह गर्नुभयो ।

चेम्बरका पदाधिकारीहरू सँगको भेटका क्रममा सभामुख अग्निप्रसाद सापकोटाले रोकिएका विधेयकहरूलाई अघि बढाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सभामुख सापकोटाले केही विधेयकलाई अघि बढाउन सम्बन्धित निकायमा भनिसकेको र बजेटसँग सम्बन्धित विधेयकहरू करिब करिब सकिएको उल्लेख गर्नुभयो ।

छलफलका क्रममा सबै आर्थिक विधेयकहरूलाई प्राथमिकतामा राखेर अघि बढाउन आफूले पहल गर्ने सभामुख सापकोटाको बताउनुभएको नेपाल चेम्बर अफ कर्मशले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button