तपाईँ सुन्दै हुनुहुन्छः

जलश्रोत तथा सिँचाइ विकासको प्रगति ७५.७५ प्रतिशत

रुपन्देही । जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय रुपन्देहीले गत आर्थिक वर्षमा ७५ दशमलव ७५ प्रतिशत प्रगति हासिल गरेको छ ।

कार्यालयले आर्थिक बर्ष ०७८/७९ मा रुपन्देहीमा सञ्चालित जल उत्पन्न प्रकोप नियन्त्रण र सिँचाइ विकासका लागि कुल विनियोजित बजेट ३१ करोड ८० लाख मध्ये २३ करोड ५८ लाख रुपैयाँ खर्च भएको जनाएको छ ।

जिल्लाभर कुल ८३ वटा योजनाका लागि सङ्घको सशर्त अनुदानतर्फ १४ करोड ८० लाख र समानिकरण अनुदानतर्फ १६ करोड ३३ लाख बजेट विनियोजित गरिएको कार्यालयले जनाएको छ । आर्थिक बर्ष ०७८/७९ मा सम्पन्न योजनाहरूको संक्षिप्त विवरणसहित वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै कार्यालय प्रमुख विष्णुप्रसाद पौडेलले विभिन्न समस्या र चुनौतीहरूको सामना गर्दै सन्तोषजनक प्रगति हासिल भएको बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापागाईँले कृषि र सिँचाइ समस्याहरूको समाधानका लागि स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारसँग समन्वय र सहकार्य गरेर ठोस योजना तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो ।

सैनामैना नगरपालिका प्रमुख फणीन्द्र शर्माले स्थानीयको माग अनुसार योजना तर्जुमा गर्न आग्रह गर्नुभयो । १६/३६ सिँचाइ प्रणालीका अध्यक्ष यज्ञ गैरेले सिँचाइ र कृषिको विकासका लागि जनताको माग र आवश्यकता बमोजिम कार्यक्रम बनाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button