तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशमा ५७ प्रतिशत मात्र धान रोपाइँ

जनकपुरधाम । साउन महिनाको पहिलो साता सुरु भए पनि पर्याप्त मात्रामा वर्षा नभएका कारण मधेश प्रदेशमा धानको रोपाइँ ५७ प्रतिशत मात्र भएको छ ।

मधेश प्रदेशमा असारको दोस्रो सातायता पर्याप्त मात्रामा वर्षा नभएकाले अपेक्षा अनुसारको रोपाइँ हुन सकेको छैन । धान रोपाइँ वर्षाका कारणले पर्याप्त मात्रामा हुन नसकेपछि किसानहरू थप चिन्तित बनेका छन् ।

मधेश प्रदेशको दुई तिहाइ धान खेतमा आकाशे पानीको भरमा खेती हुने गरेका कारण धान रोपाइँ सकिनुपर्ने बेलामा अझै ४३ प्रतिशत खेतमा धान रोपाइँ हुन नसकेको मधेश प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. नम्रता सिंहले जानकारी दिनुभयो । किसानहरू अहिले स्यालो ट्युबवेल तथा डिप ट्युबवेलको सहारा मार्फत धानको रोपाइँ गरिरहेका छन् ।

मधेश प्रदेशको धान खेती हुने क्षेत्रफलमध्ये २ लाख २९ हजार १ सय ६७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको मन्त्रालयका सूचना अधिकारी एवं कृषि अधिकृत मनिष पालले जानकारी दिनुभयो । प्रदेशमा सबैभन्दा बढी सप्तरीमा ७५ प्रतिशत तथा सबैभन्दा कम पर्सामा ४२ प्रतिशत क्षेत्रफलमा धानको रोपाइँ भएको छ ।

यसका साथै बारामा ६०, सिरहा र सर्लाहीमा ५५, रौतहटमा ५०, महोत्तरीमा ४५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

धान रोपिएका अग्लो ठाउँको धानका खेतमा पानीको अभाव भएर धान सुक्न थालेपछि किसानहरू थप मारमा परेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई धनुषाका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत यूगल किशोर तिवारीले जानकारी दिनुभयो । पानीको अभावले धान खेतमा नै चिरा पर्न थालेको छ ।

अबको एक सातासम्म वर्षा नभए धानमा धेरै क्षति हुने सम्भावना रहेको वरिष्ठ कृषि विकास अधिकृत तिवारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button