तपाईँ सुन्दै हुनुहुन्छः

भीमदत्त नगरपालिका साक्षर नगरपालिका घोषणा 

कञ्चनपुर । कञ्चनपुरको सबैभन्दा ठुलो स्थानीय तह भीमदत्त नगरपालिका साक्षर घोषणा गरिएको छ । सोमबार एक कार्यक्रमका बीच नगरलाई साक्षर घोषणा गरिएको हो ।

२०७८ को जनगणना अनुसार नगरपालिकामा रहेको कुल जनसङ्ख्या मध्ये ९६ दशमलव ४३ प्रतिशत अक्षर लेख्न र चिन्न सक्ने भएपछि साक्षरता घोषणाका लागि सूचक पुरा भएको शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले बताउनु भयो ।

उहाँका अनुसार नगरपालिकाभर रहेको १५ देखि ६० वर्ष उमेर समूहको कुल ७७ हजार ४७ जनसङ्ख्या मध्ये ७२ हजार ६ सय ३३ जना साक्षर छन् । नगरमा अब ४ हजार ४ सय १४ अर्थात् ९५ दशमलव ७३० प्रतिशत मात्रै निरक्षर रहेका नगरपालिकाले जनाएको छ ।

सरकारले साक्षरता घोषणाका लागि १२ वटा सूचक आधार बनाएको छ । शिक्षा शाखा प्रमुख जोशीका अनुसार नगरपालिकालाई साक्षरता अभियान सञ्चालनका लागि जनसङ्ख्याको घरधुरी सर्वेक्षण, सामुदायिक सिकाई केन्द्रका पदाधिकारीसँग छलफल,साक्षर भएका व्यक्तिहरूलाई साक्षरता प्रमाण पत्र वितरण लगायतका कार्य गरिएको हो ।

निर्धारण गरिएका राष्ट्रभाषा वा मातृभाषा बोल्न जान्ने, वर्ण वा अक्षरको पढाई लेखाई गर्न सक्ने, मोबाइल वा क्यालकुलेटर चलाउन सक्ने, अङ्क चिन्न सक्ने वा ९ सम्मको अङ्क लेख्न वा पढ्न सक्ने, हिसाब राख्न सक्ने, सामाजिक कार्यक्रममा आफ्नो विचार वा परिचय राख्न सक्ने सूचक मध्ये ६ वटा पुरा भए साक्षर घोषणा गर्न सकिने व्यवस्था छ ।

नगर प्रमुख पदम बोगटीको अध्यक्षतामा सम्पन्न नगर साक्षर घोषणा कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहरा,विशिष्ट अतिथि जिल्ला समन्वय उपप्रमुख राम कुमारी राना,नगर उप–प्रमुख नीलम लेखक जोशी,प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

साक्षर नगरपालिका घोषणा कार्यक्रममा नगर प्रमुख बोगटीले सामुदायिक विद्यालयहरूमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न र गरिब जेहेन्दार विद्यार्थीहरूको उच्च शिक्षामा पहुँच बढाउन थप कार्य गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा वक्ताहरूले बधाई तथा शुभकामना दिँदै नगर बाहिर जाँदा अब आफु साक्षर नगरपालिकाको बासिन्दा हु भनेर गर्वका साथ भन्न सक्ने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button