तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्ज महानगरपालिकाद्वारा श्वेतपत्र जारी

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले आज महानगरपालिकाको तर्फबाट श्वेतपत्र जारी गर्नुभएको छ ।

नगर प्रमुख सिंहले महानगरपालिकाको पहिलो बोर्ड बैठकबाट गराएको निर्णयअनुसार महानगरको अवस्थाबारे आम नगरवासीलाई जानकारी गराउने उद्देश्यले श्वेतपत्र जारी गर्नुभएको हो ।

श्वेत पत्रमार्फत वीरगञ्ज महानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले नेतृत्व लिँदाको अवस्था र आगामी दिनमा गर्नुपर्ने महत्त्वपूर्ण कामका बारेमा जानकारी गराइएको थियो ।

आज अपराह्न नगर प्रमुख सिंहले पत्रकार सम्मेलनको आयोजना गरी जारी गरेको श्वेत पत्रमा विगतका जनप्रतिनिधिहरूको लापरबाहीको कारण बेरुजु बढ्दै गएको र आर्थिक बर्ष २०७३/७४ देखि २०७७/७८ सम्म आइपुग्दा बेरुजु ४ सय १९ प्रतिशतले वृद्धि भई ६० करोड भन्दा बढी बेरुजु देखिएको श्वेतपत्रमा उल्लेख छ ।

त्यसैगरी महानगरपालिकाका शाखा, महाशाखाहरूले पनि राम्रो काम गर्न नसकेको, सरसफाइ लथालिङ्ग अवस्थामा पुगेको, विद्यालय, स्वास्थ्य चौकीको सञ्चालन प्रभावकारी नभएको, नगरपालिकाले लिजमा दिएका बसपार्क, घण्टाघर अगाडीको बिपी पार्क, घडिअर्वा पोखरी सम्झौता अनुरूप सञ्चालनमा नआएको र प्रयोगकर्ताले मनलाग्दो ढङ्गले प्रयोग गरेको भेटिएको श्वेत पत्रमा उल्लेख छ ।

त्यसैगरी महानगरपालिकाको निवर्तमान नेतृत्वले आफ्नो कार्यकालमा ७७ वटा सवारी साधन खरिद गरेको भए पनि ४ पाङ्ग्रे सवारी साधन बाहेक अधिकांश २ पाङ्ग्रे सवारी साधन मोटर साइकल र स्कुटीको अवस्थामा अज्ञात रहेको पाइएको कुरा उल्लेख छ ।

श्वेत पत्रमा महानगरपालिकाका शाखा मध्ये सामाजिक सुरक्षा तथा पंजिकरण शाखाको काम कारबाही मात्र प्रभावकारी देखिएको र अन्य कुनै पनि शाखाको काम कारबाही चित्त बुझ्दो नभएको श्वेत पत्रमा उल्लेख गरिएको छ ।

वीरगञ्जको बस पार्क सञ्चालन पनि राम्रोसँग हुन नसकेको, फोहोर प्रशोधन केन्द्रको सञ्चालन प्रभावकारी नभएको, कर सङ्कलन समेत हुन नसकेको कुरा श्वेतपत्रमा उल्लेख छ ।

पत्रकार सम्मेलनमा महानगर पालिकाका नगरप्रमुख राजेशमान सिंहले वीरगञ्ज महानगरको आर्थिक, शैक्षिक, सामाजिक, पूर्वाधार विकास, स्वास्थ्य क्षेत्र तथा विभिन्न परियोजनाहरूको विगतको अवस्था र वर्तमान अवस्थामा गर्नु पर्ने सुधारका विषयलाई समेटेर श्वेतपत्र तयार पारिएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा महानगरपालिकाका उपप्रमुख ईम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत बलराम ढकाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button