तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा विपद् प्रतिकार्य पूर्व तयारी फितलो

तनहुँ । तनहुँमा मनसुन सक्रिय भएर वर्षा सुरु भए पनि विपद् प्रतिकार्यका लागि आवश्यक पर्ने पूर्व तयारी भने फितलो छ । बाढी र पहिरोका हिसाबले जिल्लाको विभिन्न स्थान उच्च जोखिममा छन् ।

स्थानीय प्रशासनले विपद् प्रतिकार्यका लागि पूर्व तयारी भइरहेको बताए पनि विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना बन्न सकेको छैन । 

तनहुँमा मनसुन सुरु भएसँगै विभिन्न विपद्का घटना हुन थालेका छन् । खोलाले बगाउँदा मानवीय क्षति पनि भएको छ । सडक, बाटो, खानेपानी, विद्युत् लगायतमा पनि भौतिक क्षति पुगिसकेको छ ।

जिल्लामा बालबालिकादेखि वृद्ध वृद्धासम्मलाई खोलाले बगाउँदा घाइते र मृत्यु समेत भएको छ ।

जिल्लाका स्थानीय तह प्राकृतिक प्रकोप जन्य घटनाबाट हुने क्षति न्यूनीकरण तथा छिटो छरितो राहत उद्धार र पुनर्स्थापना लागि विपद् पूर्व तयारीमा जुटेका बताउँछन् । तर पनि सक्रिय भूमिका भने कमै देखिएको छ ।

करिब ३ हप्ता अघि जिल्ला प्रशासनमा आयोजित विपद् व्यवस्थापन समितिको बैठकमा तनहुँका दसैँ स्थानीय तहका प्रमुख र उपप्रमुखले विपद् जोखिम न्यूनीकरणका लागि आ–आफ्नो ठाउँमा जुट्ने जनाएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो  ।

पूर्व सूचना प्राप्त, तत्काल जनशक्ति परिचालन, राहत उद्धार तथा पुनर्स्थापना लागि अन्तरपालिका बीच हातेमालो हुनु पर्ने जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले बताउनुभयो ।उहाँले भन्नुभयो,“मनसुन भित्रिन थालेकोको छ । योजना सहितको पूर्व तयारीमा सबै स्थानीय तह एकजुट हुनु आवश्यक देखिएको छ ।”

भानु–५ का स्थानीय रामकुमार श्रेष्ठले बाढी पहिरो, सडक अवरुद्ध, खाद्यान्न आपूर्ति, पुनर्स्थापना, उपचार लगायतका राहत उद्धारका कार्य छिटो छरितो गर्नका लागि सडक, खाद्य,स्वास्थ्य, कृषि लगायतका सरोकारवाला निकाय तैनाथ हुनु पर्ने बताउनुहुन्छ ।

नदी अतिक्रमण रोक्नु पर्ने, डोजरे विकास अन्त्य गर्नुपर्ने, वृक्षारोपण गर्नु पर्ने र विपद्मा पूर्व तयारीको ठोस योजना बनाई सतर्क हुनु पर्नेका तनहुँका राजनीति दलको सुझाव छ ।

प्रमुख जिल्ला अधिकारी अर्यालले मनसुनजन्य विपद् व्यवस्थापनका लागि प्रशासन तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । 

उहाँले सहायक सीडीओको संयोजकत्वमा गठित विपद् व्यवस्थापन समन्वय समिति, स्थानीय तहका जनप्रतिनिधि र सुरक्षा निकायसँग निरन्तर सम्पर्कमै रहेको जानकारी दिनुभयो ।

सीडीओ अर्यालका अनुसार मनसुनजन्य विपद् व्यवस्थापनका लागि जनशक्ति तयारी अवस्थामा छन् । जसमध्ये सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेना, स्वास्थ्यकर्मी लगायतका जनशक्ति रहेको प्रजिअ अर्यालले बताउनुभयो ।

मनसुन सुरु भएसँगै यसपालि छिट्टै वर्षा भएको थियो । पछिल्लो दिनहरूमा समेत दैनिक जसो पानी पर्ने गरेको छ । अविरल वर्षाले जिल्लाको भानु नगरपालिकामा बढी क्षति पुर्‍याएको प्रजिअ अर्याल बताउनुहुन्छ । उहाँले अगाडी भन्नुभयो “जिल्लाको अन्य पालिका पनि क्षति पुगेको छ तर अहिलेसम्म भानु नगरपालिकामा बढी क्षति भएको छ ।”

केही समयअघि जिल्लाको आँबुखैरेनीमा सडक भासिदा केही दिन पृथ्वी राजमार्ग अवरुद्ध बनेको थियो । सोही घटनामा दुई जनाको मृत्यु समेत भएको थियो । यता डुम्रे–बेसिशहर सडकखण्डमा पनि सडक भासिदा सडक अवरुद्ध भएको थियो ।

जिल्लाको ग्रामीण सडक अधिकांश अवरुद्ध रहेका छन् । गाउँबाट बजार आउन साधनमा भन्दा पैदल छिटो हुने गरेको भानु–७ का श्याम बहादुर राना बताउनुहुन्छ । ठाउँ–ठाउँमा पहिरो जाँदा अहिले ग्रामीण सडक अवरुद्ध जस्तै रहेको छ ।

यता शुक्रवार भानु नगरपालिकाको विपत् व्यवस्थापन समितिको बैठकले विपद् आइलाग्ने अवस्था र कारण, उद्धार एवं राहतका विषयमा छलफल गरेको छ ।

नपाका प्रमुख एवं नगर विपद् व्यवस्थापन समितिका संयोजक आनन्दराज त्रिपाठीले विपद् आउनु पूर्व सावधानी अपनाउनु पर्ने, विपद्मा जोगिने उपाय, तत्काल उद्धार र राहतको व्यवस्थापनमा भानु नगरपालिका सदैव सचेत रहेको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ “भानु नपामा नेपाली सेनाको रुरु भैरव दल गण, सशस्त्र प्रहरी बल मनकामना गण, नेपाल प्रहरीको ईलाका प्रहरी कार्यालय भानु, नेपाल रेडक्रस , स्थानीय जनप्रतिनिधि लगायतसँग सहकार्य गरी कार्य गर्ने रणनीतिक योजना र पर्याप्त जनशक्ति रहेको कारण विपद् व्यवस्थापनमा भानु नपा अग्रस्थानमा रहनेछ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button