तपाईँ सुन्दै हुनुहुन्छः

दूरसञ्चार सेवालाई गुणस्तरीय र भरपर्दो बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले दूरसञ्चार सेवालाई गुणस्तरीय र भरपर्दो बनाउन सरकारका तर्फबाट आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । 

नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन (एनटीन) को नवौँ केन्द्रिय परिषद्को उद्घाटन सत्रलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले विगतमा वार्षिक १७ अर्ब राजश्व सङ्कलन गर्ने संस्था ७ अर्बमा सीमित हुनु समीक्षाको विषय बनेको बताउनुभयो । 

उहाँले दूरसञ्चार सेवाको गुणस्तर सुधारमा नीतिगत व्यवस्था गर्न सरकार तयार रहेको बताउँदै यसको सुधारमा सबै पक्षको सहयोग आवश्यक रहेको स्पष्ट पार्नुभयो । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले सबै मिलेर मुलुकलाई १० वर्षभित्र समृद्ध मुलुक बनाउनुको विकल्प नरहेको भन्दै यसका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने समेत बताउनुभयो । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले पेशागत हकहित र सङ्गठनलाई मर्यादित बनाएर लैजाने विश्वास दिलाउँदै राजनीतिक आस्थाका आधारमा कसैमाथि भेदभाव नहुने धारणा राख्नुभयो । 

उहाँले व्यवसायीक कम्पनी, उत्तरदायी व्यवस्थापन, उत्प्रेरित कर्मचारी र सुदृढ ट्रेड युनियन नारा व्यवहारमा अभ्यास गर्न जोड दिँदै अधिकार र कर्तव्य सँगसँगै आउने विषय भएको स्मरण समेत गराउनुभयो । 

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि सचिव एवम् नेपाल टेलिकमका सञ्चालक समितिका अध्यक्ष डा. वैकुण्ठ अर्यालले दूरसञ्चार सेवाको गुणस्तर वृद्धिमा सञ्चालन समिति, व्यवस्थापन र कर्मचारीबीचको सहकार्य आवश्यक रहेको बताउनुभयो । 

उहाँले आफू कार्यरत संस्था बलियो भएमात्र त्यसभित्रका ट्रेड युनियन अधिकार सुरक्षित रहने भन्दै संस्थाले प्रदान गर्ने गुणस्तर वृद्धिमा सबैको प्रयत्न हुनुपर्ने बताउनुभयो । 

कार्यक्रममा विभिन्न सङ्घ सङ्गठनका अध्यक्षहरूले परिषद् सफलताको शुभकामना दिँदै नेपालको दूरसञ्चार सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिकामा रहने कर्मचारीको वृत्ति विकास र मनोबल बढाउन सञ्चालक समिति र सरकारले उदासीनता देखाएको आरोप लगाउनुभयो । 

सातै प्रदेशका पार्षद्हरू सहभागी नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन (एनटीन) को काठमाडौँको बुद्धनगरमा जारी नवौँ केन्द्रिय परिषद् भोलिसम्म चल्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button