तपाईँ सुन्दै हुनुहुन्छः

कार्यस्थल तथा अन्य क्षेत्रमा हुने हिंसा र दुर्व्यवहार अन्त्य गर्नुपर्ने : मन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कार्यस्थल तथा अन्य क्षेत्रमा हुने हिंसा र दुर्व्यवहार अन्त्य गर्नुपर्ने बताउनुभएको छ । 

मिडिया एड्भोकेसी ग्रुप (म्याग) ले आज ललितपुरमा आयोजना गरेको सञ्चार क्षेत्रका लागि सुरक्षित कार्यस्थल राष्ट्रिय कार्यशालामा सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले हिंसा र दुर्व्यवहारबाट उन्मुक्ति नपाएसम्म उत्तरदायी र सभ्य नागरिक बन्न नसक्ने बताउनुभयो ।

उहाँले, हिंसा र दुर्व्यवहारमुक्त समाज निर्माणका लागि नागरिक समाज तथा सम्बन्धित क्षेत्र जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । 

मन्त्री कार्कीले सञ्चार क्षेत्र मात्र नभई अन्य क्षेत्रलाई पनि हिंसा र दुर्व्यवहारमुक्त बनाउनुपर्नेमा जोड दिनुहुँदै कार्यशालाबाट प्राप्त सुझावलाई सबैले व्यवहारमा लागु गर्नुपर्ने बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले कार्यक्षेत्र तथा अन्य स्थानमा हुनसक्ने हिंसा र दुर्व्यवहार विरुद्ध सबै एकजुट हुनुपर्ने भन्दै यसमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

पत्रकार बबिता बस्नेतले सञ्चार क्षेत्रमध्ये सबैभन्दा बढी हिंसा अनलाइन माध्यममा हुने गरेको पाइएको भन्दै हिंसाबाट महिला पुरुष दुवै पक्ष पीडित रहेको बताउनुभयो ।

कार्यशालामा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी, नेपाल टेलिभिजनका अध्यक्ष समीर जङ्ग शाह, राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा, नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्का एवं पत्रकारहरू निर्मला शर्मा, अनिता बिन्दु लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button