तपाईँ सुन्दै हुनुहुन्छः

बझाङ भयो ५७ औँ साक्षर जिल्ला घोषणा

बझाङ । मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहको फोटोमा माल्यार्पण गरेर बझाङ जिल्लालाई मङ्गलवार साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाईको आयोजनामा जिल्ला समन्वय समिति बझाङको सभाहलमा मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहको फोटोमा माल्यार्पण गरेर बझाङ जिल्लालाई ५७ औँ साक्षर जिल्ला घोषणा गरिएको हो । 

बझाङ जिल्लाका १२ वटै स्थानीय तहका १५ देखी ६० बर्ष उमेर समूहका निरक्षरहरूलाई १२ वटा मापदण्ड मध्ये ७ वटा मापदण्ड पुरा गरे अनुसार स्थानीय तहहरू यस अघि नै साक्षर घोषणा भइसकेकाले साक्षर नेपाल बर्ष २०७६ अवधारणा पत्र बमोजिम विभिन्न अभियान सञ्चालन गरेकाले मङ्गलवार औपचारिक रुपमा जिल्ला लाई साक्षर घोषणा गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सुरेन्द्र बहादुर कडायतले बताउनुभयो ।

साक्षर जिल्ला घोषणा कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बझाङ जिल्लाका ९५ प्रतिशत जनसङ्ख्या साक्षर भएपनि बाँकी रहेको ५ प्रतिशत पनि साक्षर हुनेगरी पुर्णरुपमा साक्षर जिल्ला घोषणा गर्नुपर्ने, अझै कतिपय बालबालिकाहरूको बीचमै विद्यालय छोड्ने भएकाले कसरी कम गर्न सकिन्छ । त्यस तर्फ समेत सबैले ध्यान दिनुपर्ने बताउनुभयो । 

त्यसैगरी जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजालले बझाङ जिल्ला मात्र हैन देशभर शिक्षा र मानवताको सन्देश फैलाउने जयपृथ्वी बहादुर सिंहलाई सोमबार मात्रै सरकारले १८ औँ राष्ट्रिय विभूति घोषणा गरेको प्रति सरकारलाई धन्यवाद दिनुका साथै नगरपालिकामा पनि यसको उपलक्ष्यमा कार्यक्रम आयोजना गर्ने र जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्न आफूहरू पनि लागि पर्ने बताउनुभयो । 

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सुदूरपश्चिम प्रदेश सांसद शान्ति नेपालीले शिक्षा नै सबै भन्दा ठुलो भएकाले आगामी दिनमा बझाङ जिल्लालाई विभेद, हिंसारहित जिल्लाको रुपमा समेत घोषणा गर्नुपर्ने र बझाङ जिल्लाको इतिहास मानवतावादी विचारक जयपृथ्वी बहादुर सिंहका विचार आजपनि उतिकै सान्दर्भिक रहेकोमा जोड दिनुभयो । 

साक्षर जिल्ला घोषणा कार्यक्रमको समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख नर बहादुर बोहराले अहिले बझाङ जिल्लाका धेरै निरक्षर आमाबुवा, दाजुभाइहरू पनि सहजै मोबाइल चलाउन सक्ने, घडी हेर्न सक्ने, सामान्य हिसाब गर्न सक्ने, परिवारका सदस्यहरूको नाम,उमेर लेख्न पढ्न सक्ने भइसकेकाले साक्षर जिल्ला घोषणा गरिएको बताउनुभयो । बोहराले यो भन्दा अगाडी गाउँपालिका अध्यक्ष हुँदा समेत शिक्षा क्षेत्रलाई लक्षित गरेर गाउँमा विभिन्न अभियानहरू समेत चलाएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button