तपाईँ सुन्दै हुनुहुन्छः

घुम्ती स्वास्थ्य शिविरमा २८ बालबालिका लाभान्वित 

टीकापुर कैलाली । जन्मजात खुट्टा बाङ्गो भई अपाङ्गता भएका २८ बालबालिकाले कैलालीको टीकापुरमै सेवा पाएका छन् । 

अपाङ्ग बाल अस्पताल तथा पुनः स्थापना केन्द्र बनेपाको आयोजनामा आज टीकापुर अस्पतालमा भएको घुम्ती स्वास्थ्य शिविरमा आएका बालबालिकाहरूले स्वास्थ्य सेवा पाएका हुन् । 

एचआरडीसीका फिँजियो विभाग प्रमुख श्याम महर्जनका अनुसार टीकापुरमा १६ जना नयाँ बालबालिका र १२ जना पहिल्यै उपचार पाइसकेका तर बनेपा जान नसकेका बालबालिकाको फलोअप उपचार भएको छ । 

नयाँ आएका मध्ये चार जनालाई नेपालगञ्जबाट हिँड्न सहयोग पुग्ने सहायक सामग्री दिने, दुई जना बालबालिका खुट्टाको प्लास्टर गरिएको र हात बाङ्गो भएका दुई बालबालिकालाई असार महिनाको अन्तिम शुक्रवार नेपालगञ्जमा उपचारका लागि बोलाएको महर्जनले बताउनुभयो । 

एचआरडीसीले पुराना उपचार भएकालाई फलोअप होस् र जन्मजात खुट्टा र ढाड बाङ्गो भई अपाङ्गता भएका बालबालिकाले उपचार पाउन भन्ने उद्देश्यले पश्चिम नेपालका बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका विभिन्न नौ वटा स्थानमा शिविर सञ्चालन गरेको छ । 

हरेक शिविरमा २५ देखि ३० जना जतिले सेवा पाउनुभएको एचआडीसीका प्रदेश पुनः स्थापना केन्द्र प्रमुख वासुदेव जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button