तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंजका दुई भन्सार कार्यालयद्वारा ११ महिनामा २ खर्ब ३४ अर्ब ९३ करोड राजस्व असुली

बीरगंज । देशको प्रमुख आर्थिक केन्द्र तथा व्यापारिक नाका वीरगंजमा रहेका दुई भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०७८/०७९ को ११ महिनामा २ खर्ब ३४ अर्ब ९३ करोड, ४८ लाख ७४ हजार राजस्व असुली गरेका छन् । 

मुलुकको प्रमुख भन्सार नाकाको रुपमा स्थापित बीरगंज भन्सार कार्यालय आईसिपीले चालु आर्थिक वर्षको ११ महिना अर्थात् ज्येष्ठ मसान्त सम्ममा १ खर्ब ८८ अर्ब ७८ करोड ६४ लाख १० हजार रुपैयाँ राजस्व असुली गरेको छ ।  

वीरगन्ज भन्सार कार्यालयको तथ्याङ्क अनुसार जेठ महिनामा मात्र १६ अर्ब ७५ करोड ६८ लाख ८५ हजार रुपैयाँ राजश्व सङ्कलनको लक्ष्य रहेकोमा १८ अर्ब ८ करोड ३७ लाख ४१ हजार रुपैयाँ सङ्कलन भएको छ । जुन मासिक लक्ष्यभन्दा ७ दशमलव ९१ प्रतिशत बढी रहेको बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेलले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा १ खर्ब ८५ अर्ब ६१ करोड ९५ लाख १९ हजार रुपैयाँ राजश्व सङ्कलनको लक्ष्य पाएको वीरगंज भन्सारले लक्ष्यभन्दा झण्डै ३ अर्ब बढी राजस्व असुली गरेको पोखरेलले जानकारी दिनुभयो ।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जेठ महिनाको अन्तिम समयमा इन्धन र सवारी साधनबाट राम्रो राजस्व असुली भएसँगै लक्ष्य भेटाउन सफलता मिलेको दाबी गर्नुभयो ।

त्यसैगरी, वीरगंजकै भारतीय रेल मार्गसँगै जोडिएको सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा ४६ अर्ब १४ करोड ८४ लाख ६४ हजार राजस्व सङ्कलन गरेको छ ।

जेठ मसान्तसम्म सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयलाई अर्थ मन्त्रालय भन्सार विभागले ४७ अर्ब ५२ करोड ४७ लाख ४० हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य दिएको भए पनि भन्सारले लक्ष्यभन्दा १ अर्ब ३८ करोड राजस्व कम असुली भएको तथ्याङ्कले देखाएको छ ।

सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष न्यौपानेले हाल सरकारले बिलासिताका वस्तु आयातमा लगाएको रोक तथा अन्य वस्तुमा गरिएको कडाइको कारण आयात कम भएपछि राजस्व असुलीमा प्रभाव परेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button