तपाईँ सुन्दै हुनुहुन्छः

बुढिगंगामा असार २३ गते निर्वाचन हुने

बाजुरा । बाजुराको बुढिगंगा नगरपालिकामा असार २३ गते स्थानीय तहको निर्वाचन हुने भएको छ । 

बिहीबार जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सर्वदलीय बैठक बाट २३ गते चुनाव गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले बताउनु भएको छ । नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा  (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) लगायत जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधि, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख सहितको सहभागितामा सहमति बमोजिम निर्वाचनको मिति तय भएको हो । 

चुनावको मिति तोक्नकै लागि यसअघि ४ पटक बैठक बसे पनि निष्कर्ष निस्किन सकेको थिएन तर आज बसेको सर्वदलीय बैठकले भने मिति तय गरेको हो । बुढिगंगाको चुनावका लागि चार पटक निर्वाचन अधिकृत फेरबदल भएका थिए । अहिले लक्ष्मण बहादुर कठायत बुढिगंगा नगरपालिकामा निर्वाचन अधिकृतका रुपमा तोकिनु भएको छ ।

वैशाख ३० मै निर्वाचन भएको बुढीगंगा नगरपालिकामा विवादका कारण पुन मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको थियो । बुढीगंगाका १० वडामध्ये ६ वटा वडामा विवाद भएको थियो । वडा नम्बर २, ३, ४, ५, ७ र ९ का केन्द्रमा मतदान स्वतन्त्र हुन नसकेको स्थानीयको भनाइ छ । २, ३, ५ र ९ वडाका मतदान स्थल एमालेका कार्यकर्ताले नियन्त्रणमा लिएका थिए भने वडा नम्बर ४ र ७ कांग्रेस कार्यकर्ताले नियन्त्रणमा लिएर आफू अनुकूल मतदान गरेका थिए । 

यी ६ वटै वडाका मतदान स्थलमा झडप, कुटपिट लगायतका गतिविधि भएका थिए । वडा नम्बर ४ मा बुथ कब्जा गरेर ९९ दशमलव ४१ प्रतिशतसम्म मत खसाइएको थियो । एमालेले कब्जा गरेका भनिएका २, ३, ५ र ९ मा प्रहरीले मतपेटिका मतदान केन्द्रमै छाडेर हिँडेका आरोप एमालेले लगाएको थियो ।  

नेकपा एमालेले मतगणना हुनुपर्ने माग राख्दै उच्च अदालत दिपायलमा रिट दर्ता गरेको छ । हाल उक्त रिट विचाराधीन अवस्थामा रहेको छ । नवनिर्वाचित जनप्रतिनिधि नहुँदा नगरपालिकाका गतिविधिमा असर परेको छ ।  असार १० मा स्थानीय तहहरूले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान भए पनि यहाँ के गर्ने भन्ने अन्यौलता छ ।

यस अघि वैशाख ३० गते भएको निर्वाचनलाई निर्वाचन आयोगले निष्पक्ष रूपमा निर्वाचन हुन नसकेको भन्दै रद्द गरेर पुनः निर्वाचन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button