तपाईँ सुन्दै हुनुहुन्छः

प्लाष्टिकको जथाभाबी प्रयोग : मानव, धर्ती र आकाशको लागि समेत खतरा

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१३ कालिमाटीकी ५० वर्षीया भीममाया मर्हजनको दैनिकी तरकारी किनमेलबाट शुरु हुन्छ । भिममाया पोलिथिनका झोलामा तरकारी ल्याउनुहुन्छ । उहाँलाई थाहा छ प्लाष्टिक धेरै प्रयोग गर्दा असर गर्छ भन्ने कुरा । तर भन्नुहुन्छ– यो नचलाई उपाय नै छैन । तरकारी तथा फलफूल ल्याएका पोलिथिन प्रायःजसो फोहोरमै फाल्ने गरेको उहाँ बताउनुहुन्छ ।

धादिङकी सुमी स्याङ्गतानको जीवनयापनको आधार नै तरकारी व्यापार हो । सुमीले मासिक ३०–४० हजार रुपैयाँ तरकारी व्यापारबाट कमाउनु हुन्छ । उहाँ पनि माग अनुसारका तरकारी पोलिथिन झोलामै राखेर बेच्नुहुन्छ । पोलिथिनका झोलामा सामान बेच्न पाइँदैन भन्ने सुमीले पनि सुन्नुभएको छ । तर, भन्नुहुन्छ “तीन चार वर्षअघि एकपटक प्लाष्टिकमा सामान बेच्न नपाइने भो भन्ने सुनेकी हुँ तर त्यस्तो होइन रहेछ, बेचिरहेकै छु ।”

टीकाप्रसाद हुमागाईं दम्पतिको कुरा पनि उस्तै छ । ३० बर्षदेखि तरकारी उब्जाउने र बेच्ने गरिरहनुभएका उहाँहरू भने आफूले मापदण्ड अनुसारको पोलिथिन मात्र प्रयोग गरिरहेको दावी गर्नुहुन्छ ।

दैनिक ९० देखि १०० किलोसम्म पोलिथिनका झोला बेचेर जीवन गुजारा गरिरहनुभएको छ सिन्धुलीका २९ वर्षिय राम लामाले । पोलिथिन विक्री गरेर न्युनतम ३० देखि ६५ हजार रुपैयाँसम्म मासिक आम्दानी गर्ने लामाले सात वर्षदेखि यो पेशा गर्दै आउनु भएको छ । आफूले किनेको पोलिथिनका झोला तरकारी तथा खुद्रा पसलहरुमा बेच्ने गर्नुभएका लामाका अनुसार अचेलभरि आयात कम भएकोले यसको मूल्य बढेको छ । मानवीय क्रियाकलापका लागि पोलिथिन अपरिहार्य ठान्नुहुन्छ लामा । भन्नुहुन्छ “प्लाष्टिक प्रयोग गर्न नदिने भने पनि यो बिना त सम्भव नै छैन ।”

यी उपभोक्ता र विक्रेता नेपालभर प्लाष्टिक प्रयोग गर्नेहरू मध्येका केही उदाहरण मात्रै हुन् ।

विश्वमा २४ प्रतिशत हृदयरोगबाट हुने मृत्यु र २५ प्रतिशत हृदयघातबाट हुने मृत्युको कारण वायू प्रदुषण हो र प्रदुषणकै कारण हरेक मिनेटमा विश्वका १३ व्यक्तिको मृत्यु हुने गर्दछ ।

प्लाष्टिक, पोलिथिन र प्रयोग
प्लाष्टिक खानीजन्य वस्तु हो । वैज्ञानिकहरुले सात प्रकारका प्लाष्टिकमध्ये पोलिथिनलाई प्लाष्टिकको एक प्रकार हो भनेका छन् । पेट्रोलियम पदार्थ शुद्धीकरण गरेर डिजेल पेट्रोल निकालिन्छ भने बाँकी सामग्री प्रशोधन गरी आवश्यक आकार र प्रकार दिएर प्लाष्टिकका सामान बनाइन्छ । कति भार धान्न सक्ने, कस्तो रङ दिने र कतिपटक प्रयोग गर्न सकिन्छ भन्ने जस्ता कुरालाई निर्धारण गरी पोलिथिन निर्माण गरिन्छ ।

खाद्य तथा अखाद्य वस्तुमा प्लाष्टिकको प्रयोग हुन्छ । सामान्य विद्युतीय सामग्री, विभिन्न प्रकारका खेलौना, भाँडाकँुडा, छाता, जुत्ता चप्पल, लुगालगायत प्लाष्टिकका विभिन्न रुपहरु मानव जीवनमा प्रयोग हुन्छन् । पानी तथा ब्याक्टेरियाबाट सुरक्षा हुने, सजिलो र हुलुका हुने भएकोले औषधिजन्य वस्तुको प्याकेजिङ्गदेखि विभिन्न प्रयोजनका वस्तुहरुमा प्लाष्टिकको प्रयोग भएको हुन्छ ।

स्वास्थ्य र पर्यावरणमा प्रभाव
सही प्रयोग र व्यवस्थापन हुन नसक्दा प्लाष्टिक जल, जमिन, जीवजन्तुदेखि मानव स्वास्थ्यलाई असर पुर्याउने एक प्रमूख कारक बनेको छ । प्लाष्टिक आफैँमा हानिकारक वा प्रयोग नै गर्न नहुने सामग्री होइन । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्रविधि संकाय प्रमूख बैज्ञानिक रविन्द्र ढकालका अनुसार जुन तरिकाबाट हामीले प्लािष्टक व्यवस्थापन गरिरहेका छौ, त्यो प्रक्रिया भने खराब छ ।

वातावरणविद् तथा शुन्य प्लाष्टिक प्रयोग अभियन्ता निपेश ढाका प्लाष्टिक प्रयोगले मुख्य तीन क्षेत्रमा असर पुर्याइरहेको बताउनुहुन्छ । ती हुन्– मानव स्वास्थ्य, जमिन र पारिस्थितिक प्रणाली ।

प्लाष्टिक जलाउँदा कार्बनमोनोअक्साईड, डाइओक्सिन, प्यूरान र बेन्जिन जस्ता हानीकारक ग्यास निस्कन्छ र यसले मानव स्वास्थ्यमा प्रत्यक्ष रुपले असर पुर्याउँछ ।

नेपालका अधिकांश गाउँघरमा खाना पकाउन होस् वा घरपालुवा जनावरलाई दानापानी बनाउन होस्, सजिलै जल्ने भएको हुँदा छिटो आगो बाल्न प्लाष्टिक वा पोलिथिनको मदतले दाउरा बाल्ने गरेको दृश्य देख्न सकिन्छ । यस्तो गतिविधिले गृहिणी तथा गर्भवती महिला र भान्सामा खटिरहने व्यक्तिको श्वासप्रश्वासमा प्रत्यक्ष असर पारिरहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

प्लाष्टिक जलाएर हुने असर एक गाँउ वा ठाँउलाई मात्रै पर्ने होइन, बरु यसले त देशको पनि सीमा नाघेर विश्वव्यापी असर पारिरहेको छ । त्यसैले यो एउटा चुनौतीकै रुपमा खडा भएको छ । बैज्ञानिकहरुले विश्वव्यापी संकटका रुपमा बढ्दै गएको जलवायू परिवर्तनका विभिन्न कारकमध्ये एक तत्व प्लाष्टिकलाई मानेका छन् । प्लाष्टिकको आधा आयु नै करिव ५ सयदेखि एक हजार बर्षसम्मको हुने भएकोले जथाभावी फालेका प्लाष्टिक पुस्तौँसम्म थुप्रिएर रहने र पर्यावरणमा खराब असर गर्ने ढकाल बताउनुहुन्छ ।

अबको डर माइक्रो–प्लाष्टिकको
सन् २०१८ मा भारतको आन्ध्र प्रदेशमा केही गाई मरे । उपचारका क्रममा एउटा गाईको पेटबाट ८० किलो प्लाष्टिक निकालियो तर गाई बाँच्न सकेन । नेपालमा पनि नगर क्षेत्रमा खुल्ला छोडिएका जनावरहरुले प्लाष्टिक खाने जोखिम बढेकोे वातावरणविदहरु बताउँछन् ।

प्रकाश, आर्द्रता, तापक्रम वा सूक्ष्मजीवहरूको सम्पर्कमा पर्दा वातावरणमा हुने ह्रासलाई रोक्नका लागि प्लाष्टिक विभिन्न रसायनहरूको संयोजनबाट बनेको हुन्छ । कुनै पनि रासायनिक प्रशोधन बिना नै प्लाष्टिकका पदार्थहरू विभिन्न परिस्थितिहरूमा सर्न सक्छन् । यो तापक्रम वा प्रकाशमा परिवर्तन जत्तिकै सूक्ष्म हुन सक्छ । यसका कारण विषाक्त तत्व वाष्पीकरण भई हावामा मिसिन्छन् । यो प्रदूषित हावा मानिसले श्वासका रुपमा लिन्छ । साथै, यी कणहरू मानिसको छालामा पनि अवशोषित हुन सक्छ । हामीले थाहै नपाई हाम्रो शरीरमा प्लाष्टिक सरिसकेको हुन्छ । जस्तै, प्लाष्टिकको फोहोर जलिरहेको हावामा सास फेर्दा, कडा गन्ध भएको नयाँ प्लाष्टिकको वस्तु खोल्दा, स्टाइरोफोम कपबाट तातो कफी पिउँदा, पानीको बोतल पुनः प्रयोग गर्दा, प्लाष्टिकको कन्टेनरमा माइक्रोवेभ गरिएको खाना खाँदा वा प्लाष्टिकको कन्टेनरमा जमेको वा केही समयको लागि मात्र भण्डारण गरिएको खाना खाँदा पनि प्लाष्टिक सजिलै मानव शरीरमा सर्छ ।

यसबाहेक फोहोर तथा प्लाष्टिकलाई जथाभावी खोलानालामा फाल्ने गर्नाले ती सामग्री विस्तारै समुद्रमा गएर थुप्रिन्छन् । त्यसरी जम्मा हुने प्लाष्टिकलाई हावा र पानीले स–साना टुक्रामा परिणत गरिदिन्छ । तसर्थ, आगामी शताब्दीहरुमा भने ती प्लाष्टिकहरू माइक्रोप्लाष्टिक अर्थात आँखाले देख्न नसकिने सूक्ष्म कणका रुपमा परिवर्तित भई मानव शरीरभित्र पुगेर स्वास्थ्यमा खराब असर हुनसक्ने बैज्ञानिक ढकाल बताउनुहुन्छ ।

काठमाडौँमा मात्र दैनिक ४७ लाखदेखि ४८ लाखसम्म प्लाष्टिकका झोला प्रयोग हुने गरेको छ र त्यसमध्ये १६ प्रतिशत शहरी फोहोरमा प्लाष्टिक रहेको छ । काठमाडौँ उपत्यकामा दैनिक १० लाखभन्दा बढि प्लाष्टिकका झोला एक पटक प्रयोग गरी फालिने गरेको छ ।

स्वास्थ्य खतरा
प्लाष्टिकको प्रयोगको प्रवृत्तिलाई हेर्ने हो भने हामीले प्रयोग गर्ने वस्तुहरूमा तिनलाई बिग्रिन नदिन आम रुपमा तीन प्रकारले प्लाष्टिक थपिएको वा प्रयोग गरिएको हुन्छ ।

पहिलो, बीपीए अर्थात् विस्फेनोल ए । यो पदार्थ धेरैजसो खाना र पेय पदार्थहरूका लागि पानीको बोतल, कचौरा र प्लेटहरूमा प्रयोग गरिन्छ । यूरोपेली संघले बालबच्चाले प्रयोग गर्ने उत्पादनहरूमा बीपीएको प्रयोगमा प्रतिबन्ध लगाएको छ । अर्को प्लाष्टिसाइजर हो । यो भने सामान्यतया पीभीसीलाई लचिलो बनाउन प्रयोग गरिन्छ । सामान्यतया बालबालिकाका खेलौना, भुइँ, कपडा र अन्य दैनिक वस्तुहरूमा यसको प्रयोग गरिन्छ । तेश्रो हो– आगोको ज्वालाप्रतिरोधी प्रयोग । अधिकतर विद्युत र इलेक्ट्रोनिक उपकरण तथा अन्य वस्तुहरूलाई आगोबाट सुरक्षित राख्न पनि यसको प्रयोग गरिन्छ ।

यस्तो प्रयोगका कारण मानव स्वास्थ्यमा पर्ने असर सामान्य खालको मात्र नभएर गम्भीर हुने विज्ञहरु बताउँछन् । उनीहरुका अनुसार, यसको सबैभन्दा खराब असर इण्डोक्राइन प्रणालीमा पर्छ । यस्तो प्रभावका कारण सो प्रणालीले ठीकसँग काम गर्न सक्दैन । मानव शरीरको यो प्रणालीको सम्बन्ध हृदय गति, पाचन प्रणाली, तापमान, सामान्य मूड, राम्ररी निदाउने क्षमता, यौन कार्य र प्रजनन लगायतका शरीरका धेरै कामहरु गर्न र व्यवस्थापनसँग हुन्छ ।

बीपीएले इन्डोक्राइन ग्रन्थीको कुनै पनि समुचित कार्यमा बाँधा पुर्याउन सक्छ । मानव शरीरमा यस्तो रसायन सरेको खण्डमा हड्डी कमजोर हुने, थाइरोइड क्यान्सर, उच्च तथा न्यून रक्तचाप, मोटोपन, टेस्टोस्टेरोन हर्मोनको उत्पादनमा कमी हुन गई सन्तानोत्पादनमा समस्या, एड्रिनल ग्रन्थीले उत्पादन गर्ने हर्मोन प्रभावित भएर विभिन्न शारीरिक तथा मानसिक समस्या देखा पर्ने हुन्छ । ‘जर्नल अफ क्लिनिकल एन्डोक्रिनोलोजी एण्ड मेटाबोलिजम’मा उल्लेखित अध्ययनहरूअनुसार सबक्लिनिकल हाइपोथाइरोइडिजम भएका ७५ वर्षभन्दा कम उमेरका मानिसहरू संज्ञानात्मक कमजोरी र स्मरण क्षमता कमजोर हुने रोगको जोखिममा परेको पाइएका छन् ।

यसैगरी प्लाष्टिसाइजरले भने प्रजननमा विकृति देखापर्ने, मान्छेको शारीरिक तथा मानसिक विकासमा विभिन्न विकार उत्पन्न हुने, दम र एलर्जीसहित फोक्सोमा समस्या देखापर्ने तथा प्रत्यक्ष विषाक्तता जस्ता समस्या देखापर्न सक्छन् । यो रसायनलाई युरोपेली संघले २०१५ मा नै प्रतिबन्ध लगाइसकेको छ । तैपनि बालबालिकाका खेलौना र बाल हेरचाहसम्बन्धी उत्पादनहरूबाहेक अन्य धेरै उत्पादनमा अझै पनि यसको प्रयोग हुने गरेको पाइन्छ ।

नेपालमा प्लाष्टिक प्रयोग
सन् २०११ को तथ्याङ्गक अनुसार एक नेपालीले दैनिक ३ सय १७ ग्राम फोहोर फाल्छन्, जसमा १२ प्रतिशत प्लाष्टिक हुन्छ । पर्वतीय विकासको लागि अन्र्तराष्ट्रिय केन्द्र (इसीमोड) २०१८ को तथ्यांकअनुसार काठमाडौँमा मात्र दैनिक ४७ लाखदेखि ४८ लाखसम्म प्लाष्टिकका झोला प्रयोग हुने गरेको छ र त्यसमध्ये १६ प्रतिशत शहरी फोहोरमा प्लाष्टिक रहेको छ । काठमाडौँ उपत्यकामा दैनिक १० लाखभन्दा बढि प्लाष्टिकका झोला एक पटक प्रयोग गरी फालिने गरेको छ ।

विश्वका प्रदुषित शहरमध्ये काठमाडौ पनि एक उच्च प्रदुषित शहर हो । वल्र्ड एयर क्वालिटी इन्डेक्स्ले जैविक सामग्रीहरु खुला रुपमा जलाइनुलाई काठमाडौ प्रदुषित हुनुको एक प्रमूख कारण भनेको छ । मानिसहरुले विश्वमा ९.१ अरब टन प्लाष्टिक उत्पादन गरिसकेका छन् र ती प्लाष्टिकले अन्ततः प्राणी र वातावरण दुवैलाई हानि गर्ने अनुसन्धानकर्ताहरु बताउँछन् ।

वायू प्रदुषणले तत्कालीन र दीर्घकालीन दुवै किसिमका स्वास्थ्य समस्या हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ । श्वासप्रश्वास संक्रमण, मुटु रोग र फोक्सोको क्यान्सर जस्ता स्वास्थ्य समस्याको जोखिम हुने डब्ल्युएचओले आफनो प्रतिवेदनमा उल्लेख गरेको छ । डब्ल्युएचओका अनुसार विश्वमा २४ प्रतिशत हृदयरोगबाट हुने मृत्यु र २५ प्रतिशत हृदयाघातबाट हुने मृत्युको कारण वायू प्रदुषण हो र प्रदुषणकै कारण हरेक मिनेटमा विश्वका १३ व्यक्तिको मृत्यु हुने डब्ल्युएचओले बताएको छ । वायू प्रदुषणका कारण बालबालिका, वृद्धवृद्धा, आर्थिक अवस्था कमजोर भएका र पहिले नै विरामी रहेका मानिसहरुलाई बढी प्रभाव पर्ने समेत सो संगठनले जनाएको छ ।

फितलो सरकारी प्रयास
वातावरण संरक्षण ऐन २०७६ को दफा १५ मा कुनै सवारी साधन, यन्त्र, उपकरण, औधोगिक प्रतिष्ठान, होटेल, रेष्टुरेन्ट वा अन्य स्थान वा मालवस्तु वा कुनै क्रियाकलापबाट हुने प्रदुषण वा जोखिमपूर्ण पदार्थ निष्काशन वा उत्सर्जनबाट हुने असर न्युनिकरण वा निराकरण गर्नका लागि आवश्यक मापदण्ड निर्धारण गर्न सक्ने उल्लेख छ ।

सरकारले २०७२ बैशाख १ गतेबाट लागु हुने गरी काठमाडौँ उपत्यका भित्र २० ईन्च चौडाई र ३५ ईन्च लम्बाई भन्दा सानो र ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोलाको उत्पादन, भण्डारण, विक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको थियो तर उक्त प्रतिवन्ध बिनाशकारी भुकम्पको कारणका नाममा सरकारले कार्यान्वयन गर्न सकेन ।

यस्तै, वातावरण तथा मानव स्वास्थ्यमा पर्ने जोखिम न्यूनीकरणका लागि सरकारले आर्थिक वर्ष २०७८÷०७९ को आय–व्ययको सार्वजनिक वक्तव्यमा ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा २०७८ श्रावण १ गतेदेखि पूर्णरुपमा प्रतिबन्ध लगाउने नीतिगत उदघोष गर्यो । फेरि पनि सरकारको घोषणाको प्रभावकारी कार्यान्वयन भएन । सर्वोच्च अदालतबाट समेत २०७८ श्रावण २८ गते नेपाल सरकारले घोषणा गरेको प्रतिबन्धलाई प्रभावकारी रुपमा पालना गराउन कार्यान्वयनयोग्य कार्ययोजना तयार गरी प्लाष्टिक झोलाको उत्पादन, आयात, विक्रि वितरण र प्रयोगमा देशभर प्रतिबन्ध लगाउन सरकारका नाममा आदेश भयो । सो आदेशलाई कार्यान्वयन गर्न सरकारले प्लाष्टिक झोला प्रतिवन्ध सम्बन्धी कार्ययोजना, २०७८ समेत स्वीकृत गरेकोे छ ।

प्रदेश र स्थानीय तहमा समेत कार्ययोजना लागू गर्ने गरी नेपालभर मापदण्डभन्दा पातला प्लाष्टिक झोला उत्पादनमा पूर्ण प्रतिबन्ध लगाउने, उद्योगको नियमित अनुगमन, ४० माइक्रोनभन्दा बाक्लो झोलाको उत्पादन गर्न उद्योगलाई अनुदान दिने कार्यविधि स्वीकृतिदेखि वैकल्पिक झोला उत्पादन, प्रयोगलगायतमा जोड दिइएको छ ।

मापदण्ड मान्दैनन् उद्योगीहरु
सरकारसँग नेपालमा प्लाष्टिक उत्पादक उद्योग कति छन् भन्ने एकिन तथ्याङक छैन तर प्रदुषण नियन्त्रण तथा नियमनकोे अधिकार राख्ने वातावरण विभागले भने उद्योगीहरुले मापदण्ड नटेरेको पाएको छ । वातावरण निरीक्षक राजेश्वर पौड्यालका अनुसार महिना दिनअघि मात्रै पनि बालाजु औद्योगिक क्षेत्रको अनुगमनका क्रममा २० माइक्रोनभन्दा पनि पातलो प्लाष्टिक उत्पादन गरेको पाइयो । उहाँको गुनासो छ, “हामीसँग छलफलमा बस्दा उद्योगीहरू पालना गर्छौं भन्नुहुन्छ तर कार्यान्वयन भएको पाइँदैन ।”

निरीक्षक पौड्याललाई कानुनी व्यवस्था नै फितलो भएको जस्तो लागेको छ । उहाँ भन्नुहुन्छ, “निर्देशन दिने मात्र भनिएको छ, अनुगमनसहित कारबाहीको अधिकार नभएकोले अनुगमन प्रभावकारी भएको छैन ।” उहाँले सर्वसाधारणमा पनि प्लाष्टिकको सही प्रयोग नगर्नु स्वास्थ्य र वातावरणका लागि हानिकारक छ भन्ने चेतनाको अभाव पाउनुभएको छ ।

प्लाष्टिकको प्रयोग र व्यवस्थापन
प्लाष्टिकलाई पूर्ण रूपमा नष्ट गर्न सकिँदैन । जलायौं भने यसले धेरै वायु प्रदूषण निम्त्याउँछ जुन मानव स्वास्थ्य र समग्र वातावरणको लागि असाध्यै हानिकारक छ । त्यसैले प्लाष्टिकको सही प्रयोग र व्यवस्थापनको विकल्प छैन । तर, कसरी ? “समान्य नागरिकले प्लाष्टिक के हो चिन्नुुपर्छ, बुझ्नपर्छ, यसलाई के गर्दा हानिकारक हुन्छ, थाहा पाउनु पर्छ । घरघरका प्लाष्टिकजन्य वस्तु अर्थात फोहोर छुट्याएर राख्नुपर्छ”, वैज्ञानिक रविन्द्र ढकाल भन्नुहुन्छ, “यस्तो ज्ञानका लागि प्लाष्टिक र वातावरणसम्वन्धी विषयलाई विद्यालय तहबाटै अध्ययन अध्यापनमा प्राथमिकता दिन सकिन्छ ।”

सही प्रयोग र व्यवस्थापन हुन नसक्दा प्लाष्टिक जल, जमिन, जीवजन्तुदेखि मानव स्वास्थ्यलाई असर पुर्याउने एक प्रमूख कारक बनेको छ । प्लाष्टिक आफैँमा हानिकारक वा प्रयोग नै गर्न नहुने सामग्री होइन ।

ढकालका अनुसार, सरकारले चासो र चिन्ताका साथ काम गरेमा प्लाष्टिक व्यवस्थापनको राम्रा नमूना घरघरमै पु¥याउन सकिन्छ । गृहिणीहरुलाई प्रशिक्षित गर्ने कार्यमा स्थानीय सरकारले अग्रसरता लिए मात्रै पनि फोहोर व्यवस्थापनको घरघरमै जनचेतना पुग्ने उहाँको दृष्टिकोण छ । प्लाष्टिक फोहोर कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने मामलामा भने सरकारी नीति, नियम र मापदण्डहरू भने स्पष्ट हुनु आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।

बजारले आधारभूत माग र आपूर्तिको सिद्धान्तमा काम गर्छ । शुन्य प्लाष्टिक प्रयोगको अभियान संचालन गरिरहनुभएका वातावरणविद् निपेश ढाकाका अनुसार खाना खानेदेखि प्लाष्टिकजन्य सामग्री जथाभावी फाल्ने जस्ता कार्यमा हरेक व्यक्ति सचेत भएमा पर्यावरण बचाऊमा महत्वपूर्ण योगदान दिन सकिन्छ । यसका लागि फोहोर प्लाष्टिक जलाउनु वा फाल्नुको सट्टा, त्यसलाई विभिन्न तरिकाले पुनः प्रयोग गर्न सकिन्छ । शहरी क्षेत्रका मुख्य खेलाडी नै उपभोक्ता भएकोले खपत घटाउने मात्र हो भने आपूर्ति स्वतः घट्छ र हामी प्लाष्टिकजन्य खतराबाट जोगिन सक्छौं ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button