तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियतामाथि संकट पैदा हुन नदिन एकताबद्ध हुनुपर्ने सांसदहरूको माग

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले राष्ट्रियतामाथि संकट पैदा हुन नदिन एकताबद्ध हुनुपर्ने बताउनुभएको छ । 

बैठकको विशेष समयमा बोल्दै नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले एसपीपी सम्झौता, राष्ट्रिय अखण्डता, स्वतन्त्रता र असंलग्न परराष्ट्र नीति विपरीत हुने बताउनु हुँदै सबै मुलुकसँग सन्तुलित कूटनीतिक सम्बन्ध कायम गर्न विचलित हुन नहुने बताउनुभयो । 

उहाँले विकासका नाममा राष्ट्रियता विपरीतका सम्झौता स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । 

सांसद डा. विमला राई पौड्याल, तुलप्रसाद विश्वकर्मा लगायतका सांसदहरुले एसपीपी सम्झौता राष्ट्रियता विपरीत रहेकोले सम्झौता स्वीकार्य नहुने बताउनुभयो । 

सांसदहरुले बलात्कारबाट जन्म लिएको नाबालकको डिएनए परीक्षण र दोषीलाई कारबाही दायरामा ल्याउन लगायत माग राख्दै अनशनरत महोत्तरीकी नेहारीका को मागलाई राज्यले तत्काल सम्बोधन गर्न माग गर्नुभएको छ । 

सभाको आजको दोस्रो बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले औषधी तेस्रो संशोधन विधेयक २०७९, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन विधेयक २०७९ माथि प्रस्तुत गर्नुभएको विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । 

बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट शपथ सम्बन्धी विधेयक, २०७८ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वकृति गरेको छ । 

राष्ट्रिय सभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button