तपाईँ सुन्दै हुनुहुन्छः

प्रयोगमा नआई जीर्ण बन्यो बिरामी कुरुवा कक्ष 

सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिका–५ लेखपोखरामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको बिरामी कुरुवा भवन  प्रयोगमा नआई जीर्ण बनेको छ । वि.स २०६६ सालमा निर्माण सम्पन्न  बिरामी कुरुवा भवन प्रयोग नभएर नै जीर्ण बनेको हो । तर प्राथमिक स्वास्थ्य केन्द्रमा आउने बिरामीका कुरुवाहरूले भने सास्ती पाउँदै आएका छन् । 

स्थानीय सुनिल कुवरले बिरामी कुरुवा भवन सञ्चालनमा नआउँदा उपचारका लागि स्वास्थ्य संस्थामा पुगेका बिरामीका कुरुवाहरूले सास्ती भोग्दै आएको बताउनुभयो । ‘प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको चाप छ, सुत्केरी हुने लगायत अन्य आकस्मिक बिरामीहरूलाई लिएर आफन्तहरू यहाँ आउँछन् तर बिरामी कुरुवाको लागि बस्ने ठाउँ छैन 

प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त इन्चार्ज वीर बहादुर वलीले बिरामी कुरुवा भवनलाई सञ्चालन गर्ने तयारी गरिएको भएपनि सञ्चालन गर्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘यो नितान्त आवश्यक छ, हामी सँग भवन पनि छ, तर प्रयोगमा आउन सकेको छैन  तातोपानी तताउन मिल्ने भाँडाकुँडा तथा ग्यास हामीसँग छ, तर बेड छैन  केही बेड राखेर त्यसको मर्मत सम्भार गरेर प्रयोगमा ल्याउन सके राम्रो हुने थियो’ । 

प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष तथा छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष फौद बहादुर बस्नेतले यसबारेमा आफूहरूलाई अहिले केही जानकारी नभएको र स्वास्थ्यकर्मीहरूसँग छलफल गरेर समस्या समाधान गरिने बताउनुभयो । स्वास्थ्यकर्मी अभाव देखी लिएर यस क्षेत्रमा थुप्रै समस्या रहेकाले बजेट सार्वजनिक पूर्व छलफल गरेर सोही अनुसारको बजेट विनियोजन गर्ने उहाँको भनाइ छ ।

स्थापित संसद् २०६३ मा सल्यान जिल्ला क्षेत्र नम्बर २ बाट राप्रपाका मनोनीत सांसद नरेन्द्र कुमार चौधरीको संसद् विकास कोषको रकमबाट भवन निर्माण गरिएको थियो । संसद् विकास कोषको एक लाख ७० हजार अनुदान र स्थानीयको एक लाख श्रमदान गरी कुल २ लाख ७० हजारमा भवन निर्माण गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button