तपाईँ सुन्दै हुनुहुन्छः

पोर्चुगलमा समुद्रमा भेटिएको शवको पहिचान खुल्यो

लिस्बन । करिब दुई महिनाअघिदेखि पोर्चुगलमा बेपत्ता भएका नेपाली युवाको शव समुद्रमा भेटिएको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का ३० वर्षीय सुजन सिलवालको शव समुद्रमा भेटिएको हो । 

सिलवालको शव समुद्रमा भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै गैर आवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रिन अधिकारीले राससलाई जानकारी दिनुभयो ।

उनको शव बेपत्ता भएको भोलिपल्टै अर्थात् गत अप्रिल १६ मै प्रहरीले समुद्रमा भेटेको भए पनि शवको पहिचान भने बिहीबार मात्रै खुलेपछि प्रहरीले खबर गरेको अधिकारीले बताउनुभयो । 

प्रहरीले दिएको जानकारीअनुसार सिलवालको शव राजधानी लिस्बन नजिकै पर्ने पासो डि आर्कोसस्थित समुद्रमा डुबेको अवस्थामा भेटिएको अधिकारीले बताउनुभयो । उनको शव कासकाइसस्थित अस्पतालको शव गृहमा राखिएको छ ।

सो घटनाका विषयमा उनको परिवारलाई जानकारी गराइएको र परिवारले शव नेपाल पठाइदिन आग्रह गरेको अधिकारीले बताउनुभयो । 

बेपत्ता भएका सिलवालको खोजी कार्यका लागि सङ्घले यहाँको प्रहरी प्रशासनलाई खबर गर्नुका साथै ठाउँ ठाउँमा उनको फोटोसहितको पोस्टरसमेत टाँसेको थियो ।

सिलवाल वैदेशिक रोजगारीको सिलसिलामा सात वर्षअघि पोर्चुगल आएका थिए । गत अप्रिल ११ मा नेपालबाट पोर्चुगल फर्केका उनी अप्रिल १५ दिउँसोदेखि सम्पर्कविहीन भएका थिए । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button