तपाईँ सुन्दै हुनुहुन्छः

कनकासुन्दरीमा १ करोड लगानीमा ‘नागराज लोकमार्ग’ निर्माण हुँदै

जुम्ला । नेपालका बाइसे चौबिसे राज्य मध्य शक्तिशाली सिञ्जा राज्यका राजा (नागराज) को सम्झनामा जुम्लाको कनकासुन्दरीमा लोकमार्ग निर्माण हुने भएको छ । कनकासुन्दरी गाउँपालिकामा एक करोड लगानीमा ‘नागराज लोकमार्ग’ निर्माण हुने भएको हो ।

सिञ्जा राज्यका राजा नागराजको स्मृतिमा कनकासुन्दरीको गोठिज्युला गाडतार्ना लुड्कु गाउँ हुँदै ऐतिहासिक कनकासुन्दी मन्दिर जोडने ‘नागराज लोकमार्ग’ निर्माण प्रक्रिया अघि बढेको हो ।

सङ्घीय सरकारको एक करोड लगानीमा ‘नागराज लोकमार्ग’ निर्माण भइरहेको कनकासुन्दरी ५ का स्थानीय उपेन्द्र न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो,“सङ्घीय सरकारबाट १ करोड बजेट विनियोजन भएको छ । सिञ्जा राज्यको विरासत जोगाउन र राजा नागराजको योगदानको कदर गर्न ‘नागराज लोकमार्ग’ नामाकरण गरिएको हो । सडक निर्माणको काम अघि बढिरहेको छ ।”

सडक निर्माणका लागि एक करोड विनियोजन भए पनि ४९ लाखमा ठेक्का सम्झौता भएको छ । यद्यपि एक करोड बराबरकै काम गरिने स्थानीय न्यौपानेको भनाई छ । आगामी असारभित्र निर्माण सम्पन्न गर्ने गरी कालासिला निर्माण सेवाले ‘नागराज लोकमार्ग’ निर्माणको जिम्मा लिएको छ ।

कनकासुन्दरीको गोठिज्युला गाडतार्ना लुड्कु गाउँ हुँदै ऐतिहासिक कनकासुन्दी मन्दिर जोडने ४ सय ५० मिटर सडकलाई आरसिसी गरिने छ भने ‘नागराज लोकमार्ग’ निर्माण क्रमागत योजनाका रुपमा अघि बढ्ने जनाइएको छ ।

‘नागराज लोकमार्ग’ निर्माण पश्चात् मुगु रारा ताल हुँदै सिञ्जाको कनकासुन्दरी मन्दिर दर्शन गर्ने पर्यटकहरूका लागि सहज हुने छ ।

‘नागराज लोकमार्ग’ निर्माण हुने कुराले जुम्लामा चर्चा पाएको छ । सिञ्जा राज्यका नागराजको नाम जोडेर पहिलो पटक सडक निर्माण हुन थालेपछि सबै नागरिकको चासो बढेको हो ।

इतिहास झल्किने व्यक्ति र सम्पदालाई जोडेर निर्माण गरिने पूर्वाधारले पर्यटन प्रवर्द्धन गर्नुका साथै पहिचान स्थापित हुने नागरिक अगुवा राज बहादुर महतको भनाई छ । ‘नागराज लोकमार्ग’ नामाकरण गरेको प्रति पहल कर्तालाई महतले धन्यवाद समेत दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button