तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य र शिक्षा व्यापार होइन, सेवाकै रुपमा हुनपर्छ : मेयर साह

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले स्वास्थ्य र शिक्षा व्यापारको रुपमा नभई सेवाको रुपमा जनताको घरदैलोमा पुग्नुपर्ने बताउनुभएको छ । 

क्षेत्रपाटी निःशुल्क चिकित्सालयको आज बिहान निरीक्षण गर्नुहुँदै मेयर साहले स्वास्थ्य र शिक्षा व्यापारको रुपमा नभई सेवाको रुपमा जनताको घरदैलोमा पुग्नुपर्ने बताउनुभएको हो ।

२०१३ सालमा स्थापना भएको क्षेत्रपाटी निःशुल्क चिकित्सालयको नव निर्मित भवन निर्माणको अवलोकन तथा अस्पतालबाट प्रवाह भइरहेको सेवा सम्बन्धमा समेत उहाँले जानकारी लिनुभएको छ । 

मेयर साहले अस्पतालमा उपचार गराइरहेका बिरामीसँग अन्तरक्रिया पनि गर्नुभएको छ ।  

अस्पतालबाट प्रवाह भइरहेको सेवा तथा बिरामीसँग अन्तरक्रिया पश्चात् उहाँले अस्पतालले आफूले सोचेको भन्दा राम्रो सेवा प्रवाह गरिरहेकोमा खुसी व्यक्त गर्नुभएको छ ।

उहाँले क्षेत्रपाटी निःशुल्क चिकित्सालयबाट असहाय, गरिब तथा आर्थिक अभावमा परेकालाई निःशुल्क रुपमा उपचार हुने कुराको ग्यारेन्टी गर्न निर्देशन दिनुभएको छ ।

मेयर साहले समुदायबाट चलेको अस्पताललाई महानगरले के गर्न सक्छ ? सहकार्य कसरी हुनसक्छ ? वार्षिक रुपमा सहयोग गर्ने वा के भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो ।

उहाँले शिक्षा र स्वास्थ्य भनेको प्राथमिक एजेण्डा भएकोले सेवा नै हुनुपर्छ र व्यापार हुनु हुँदैन भन्ने सोचले अघि बढाउने प्रतिबद्धता जनाउनुभयो । 

स्वास्थ्य र सरसफाईमा महानगरले उच्च चासो दिएको बताउँदै उहाँले यसको लागि नयाँ नयाँ योजना तथा सल्लाह सुझावहरू लिएर आउनेसँग सहकार्य गरिने बताउनुभयो । 

अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले अस्पताल प्रवेश गर्ने जोसुकै उपचार विहीन अवस्थामा फर्कनु नपरेको बताउनुहुँदै हुनेसँग न्यूनतम शुल्क लिएर नहुनेलाई निःशुल्क उपचार गर्ने प्रतिबद्धता जनाउनुभयो । 

“यहाँ देशैभरका जोसुकै नेपाली नागरिक मसँग पैसा छैन भनेर आउँछन् भने निःशुल्क उपचार सेवा पाउँछन् ।”, उहाँले भन्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button