तपाईँ सुन्दै हुनुहुन्छः

आफ्नो अन्तिम खेलमा नेपालले मलेसियालाई हरायो

काठमाडौँ । आइसिसी उन्नाइस वर्षमुनि (यु–१९) महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत मलेसियाविरुद्धको आफ्नो अन्तिम खेलमा नेपालले जित हासिल गरेको छ । 

मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा आज भएको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई २५ रनले पराजित गरेको हो । यस खेलसँगै नेपालको विश्वकप खेल्ने सपना सकिएको छ । 

नेपालले छनोटमा ६ अङ्क जोड्दै तेस्रो स्थानमा रह्यो । नेपालले ५ खेलमा ३ जित र २ हार व्यहोरेको थियो ।  नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो भने दोस्रो खेलमा संयुक्त अरब इमिरेट्सँग (युएई) १० विकेटले पराजित भएको थियो । 

त्यस्तै तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको थियो भने चौथो खेलमा नेपाल थाइल्यान्डसँग ४९ रनले पराजित भएको थियो । यस हारसँगै मलेसिया ५ खेलमा ४ अङ्क जोडेर चौथो स्थानमा रह्यो । छनोटमा युएई ८ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । थाइल्यान्ड ८ अङ्क जोडेर दोस्रो स्थानमा छ । आज हुने थाइल्यान्ड र युएईबीचको खेलले विश्वकपमा पुग्ने टोलीको निर्धारण गर्नेछ । 

आजको खेलमा नेपालले दिएको ८७ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ६१ रनमा समेटियो ।

मलेसियाको लागि एल्सा हन्टरले सर्वाधिक २८ रन जोडिन् । त्यसबाहेक अन्य ब्याटरले उत्कृष्ट खेल प्रदर्शन गर्न सकेनन् । नेपालकी कप्तान कृतिका मरासिनीले दुई विकेट लिइन् भने मनिषाकुमारी उपाध्यायले एक विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८६ रनको योगफल बनाएको थियो । नेपालका लागि अञ्जली विश्वकर्माले सर्वाधिक ३३ रनको योगदान दिइन् भने आश्मा पुलामी मगरले २६ रन जोडिन् । 

त्यसैगरी सृष्टि जैशी, सानु राजवंशी र अनु कठायतले समान तीन÷तीन रन जोड्दा कृतिका मरासिनीले एक रन जोडिन् । मलेसियाकी नुर सामेदले दुई विकेट लिइन् । 

छनोटमा नेपालसहित, मलेसिया, युएई, थाइल्यान्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले आगामी वर्ष दक्षिण अफ्रिकामा आयोजना हुने यु–१९ को विश्वकप खेल्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button