तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश युवा परिषद्ले पहिलो स्थापना दिवस मनायो  

मकवानपुर । बागमती प्रदेशको प्रदेश युवा परिषद्ले बुधवार पहिलो स्थापना दिवस मनाएको छ । बुधवार बिहान कार्यालयमा अन्तरक्रियासंगै रक्तदान कार्यक्रम र हेटौँडा अस्पतालमा फलफूल वितरण गरेर स्थापना दिवस मनाएको हो । 

अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले प्रत्येक स्थानीय तहमा युवाहरूलाई स्वयंसेवकका रुपमा परिचालन गरिने बताउनुभयो । अब युवा परिषद्ले तालिम दिँदा रोजगारीको ग्यारेन्टीका साथ मात्र दिने उहाँले बताउनुभयो । युवाहरूलाई उत्पादन, रोजगारी र व्यवसायमा लैजान समेत उहाँले सुझाव दिनु भएको छ । 

कार्यक्रममा प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले राष्ट्रिय युवा नीतिलाई आधार मानेर प्रदेश युवा नीति बनाउँदै गरेको जानकारी दिनुभयो । उहाँले प्रदेशका युवालाई आधार मानेर कार्यक्रम ल्याइने जानकारी गराउनुभयो । 

प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका पूर्व मन्त्री तथा प्रदेशसभाका सदस्य चन्द्र लामा, बागमती प्रदेश सभाका सदस्य प्रेमबहादुर पुलामी, प्रदेशको युवा तथा खेलकुद मन्त्रालयका सचिव धुर्ब गैडा, जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सुमन पाख्रिन, हेटौँडा ४ का वडा अध्यक्ष नवीन सिग्देल, लगायतले युवाहरूले आफ्ना हक अधिकार प्राप्तिसँगै युवाहरू स्वरोजगारका क्षेत्रमा लाग्नु पर्ने बताउनु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button