तपाईँ सुन्दै हुनुहुन्छः

छोरी बीमा कार्यक्रम छिट्टै सञ्चालन हुन्छ: मुख्यमन्त्री राउत

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी बीमा कार्यक्रम’ छिट्टै सञ्चालन हुने बताउनुभएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्यहरूले उठाउनुभएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राउतले ‘छोरी बीमा कार्यक्रम’का लागि ग्लोबल आइएमई बैङ्कसँग सम्झौता भइसकेकाले छिट्टै सञ्चालन हुने बताउनुभयो ।

‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ सँगै सञ्चालित ‘छोरी बीमा कार्यक्रम’ अन्तर्गत हालसम्म प्रदेशका करिब छ/सात हजार छोरीको बीमा भइसकेको र अब थप छोरीको बीमा हुने उहाँको भनाइ थियो ।

महिला, दलित लगायतका सामाजिक विभेद र थिचोमिचोमा परेका समुदायको उत्थानका लागि प्रदेश सरकारले विभिन्न विधेयक ल्याएर गतिविधि अघि बढाइसकेको भन्दै उहाँले कार्यान्वयन गर्ने निकाय सक्रिय नहुँदा अपेक्षाकृत कार्य अघि बढ्न नसकेको बताउनुभयो ।
प्रदेशमा प्रवेश गर्ने पूर्वको कोसी ब्यारेज र पश्चिमको बागमती प्रदेश नजिकै प्रदेश सरकारले प्रवेशद्वार निर्माण गर्ने घोषणा गर्दै प्रदेशसभा सदस्यबाट आएका सुझाव सल्लाहलाई समेत आत्मसात् गरी आगामी बजेट विनियोजन गरिने जानकारी दिनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button