तपाईँ सुन्दै हुनुहुन्छः

जिसस जुम्लाको प्रमुख र उपप्रमुख सहित प्यानलै निर्विरोध निर्वाचित

जुम्ला । जिल्ला समन्वय समिति जुम्लाको प्रमुख र उपप्रमुख दुवै निर्विरोध निर्वाचित भएका छन् । प्रमुखमा नेपाली काँग्रेसका गौरीनन्द आचार्य र उपप्रमुखमा एकिकृत समाजवादीका जनक थकाली निर्विरोध निर्वाचित भएका हुन् ।

काँग्रेस र समाजवादीबिच गठबन्धन भएपछि प्रमुख र उपप्रमुख लगायत पुरै प्यानलै निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । काँग्रेसले समाजवादीसँग उपप्रमुख र एक सदस्य दिएर सहमति गरी गठबन्धन गरेको थियो ।

जुम्लामा एक नगरपालिका र ७ गाउँपालिका छन् । जिल्ला समन्वय समितिको निर्वाचनमा ८ स्थानीय तहको प्रमुख उपप्रमुख गरी १६ जनाले मतदान गर्न पाउने व्यवस्था छ । काँग्रेस ८, माओवादी ६, समाजवादी १ र स्वतन्त्र १ गरी १६ जना मतदाता छन् ।

बहुमत ल्याउन काँग्रेसलाई १ मतको मात्रै आवश्यकता थियो । अन्ततः नेपाली काँग्रेसले समाजवादीबाट सहयोग मागेपछि पुरै प्यानलै विजयी भएको हो । आफ्नो पक्षमा बहुमत नभएपछि माओवादीले मनोनयन समेत दर्ता गराएन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button