‘गठबन्धनलाई प्रदेश र सङ्घको निर्वाचनसम्म निरन्तरता दिनुपर्छ’
धनकुटा । नेपाली काँग्रेसका सह महामन्त्री भीष्मराज आङ्देम्बेले गठबन्धनलाई प्रदेश र सङ्घको निर्वाचनसम्म निरन्तरता दिनुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस धनकुटाले आज धनकुटामा आयोजना गरेको गठबन्धनको तर्फबाट स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरूलाई शुभकामना तथा बधाई कार्यक्रममा बोल्नुहुँदै आङ्देम्बेले गठबन्धनलाई प्रदेश र सङ्घको निर्वाचनसम्म निरन्तरता दिनुपर्ने बताउनुभएको हो ।
उहाँले सिद्धान्त नमिल्ने शक्तिहरू देश र जनताको भलाइका लागि एक ठाउँमा आएको बताउँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रवृत्तिको अन्तका लागि र देशको संविधान र व्यवस्था जोगाउनका लागि गठबन्धनलाई निरन्तरता दिनु आजको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले काँग्रेसले मात्र देशलाई निकास र विकास दिने जनताले बुझेकाले संसद्मा कमजोर रहेको अवस्थामा स्थानीय तहको निर्वाचनमा सबैभन्दा धेरै स्थान जिताएर थप जिम्मेवारी दिएको समेत बताउनुभयो ।
नेपाली कांग्रेस धनकुटाले गठबन्धनबाट विजय भएका सातै पालिकाका जनप्रतिनिधिलाई बधाई तथा शुभकामना समेत दिएको छ ।
प्रतिक्रिया राख्नुहोस्