तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा विश्वविद्यालयको शिक्षण अस्पताल अब आफ्नै

पोखरा । पोखरा विश्वविद्यालयले शिक्षण अस्पताल असारबाट सञ्चालनमा ल्याउने तयारी गरेको छ । असारबाट अस्पताल सुरु गरी बहिरङ्ग विभाग (ओपिडी) सेवा सञ्चालनमा ल्याउने तयारी छ । 

तत्कालको लागि विश्वविद्यालय परिसरभित्रकै छात्रावासलाई ‘मोडिफाई’ गरेर ओपिडी सेवा सञ्चालन गर्ने विश्वविद्यालयका रजिस्ट्रार प्राडा दीपकबहादुर भण्डारीले जानकारी दिनुभयो ।

ओपिडी सञ्चालन ल्याउन आवश्यक प्रशासनिक जनशक्ति, क्लिनिकल प्राविधिक जनशक्ति आदिका लागि विज्ञापन भई नियुक्तिको कामसमेत भएको छ  । अस्पताल सञ्चालनको सुरुको चरणमा बिरामी जाँच्ने बहिरङ्ग सेवा (ओपिडी) थाल्न लागिएको हो । 

अस्पतालको लागि चाहिने  भवन निर्माणको काम पनि धमाधम भइरहेको छ । आवश्यक बेडहरू कर्मचारी, साथै अन्य भौतिक सामग्रीहरु खरिद प्रक्रियामा रहेको र  सञ्चालनको सुरुमा इमर्जेन्सी सेवा सञ्चालन गर्ने बताइएको छ ।

१ सय बेडको शिक्षण अस्पतालको भवन बनाउन विश्वविद्यालयले सूर्य कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता गरिसकेको छ ।  सूर्य कन्ट्रक्सनसँग ७ करोड ४९ लाख रुपैयाँमा काम गर्ने गरी सम्झौता भएको छ । उनका अनुसार मङ्सिरसम्म सय बेडको शिक्षण अस्पताल सञ्चालनमा ल्याउने योजना छ । 

२५ वर्षदेखि प्यारामेडिक विद्यार्थीहरू उत्पादन गरिरहेको पोखरा विश्वविद्यालयको आफ्नै शिक्षण अस्पताल छैन । विश्वविद्यालयले शुल्क तिरेर प्यारामेडिकल विद्यार्थीहरूलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपाल शिक्षण अस्पतालबाट शिक्षण गराउँदै आएको थियो । अब भने आफ्नै अस्पतालमा विद्यार्थीहरूले अध्ययन गर्न पाउने भएका छन् । विद्यार्थीहरूलाई बाहिर लगेर पढाउँदा महँगो शुल्क तिर्नुपरेको भण्डारीले जानकारी दिनुभयो ।

अस्पतालमा प्रशासनिक कार्यालय, बहिरङ्ग विभाग (ओपिडी), अन्तरङ्ग विभाग, आकस्मिक तथा शल्यचिकित्सा विभाग, सघन उपचार कक्ष, प्रयोगशाला, फार्मेसी, रेडियोलोजी विभाग लगायत आवश्यक प्रतीक्षा कक्ष, सवारी साधन, पार्किङ, पानी विद्युत्, इन्टरनेटको व्यवस्थापन, फोहोर व्यवस्थापन लगायत हुनेछ ।

विश्वविद्यालयमा प्यारामेडिक अन्तर्गत स्वास्थ्यका १२–१३ वटा वटा कार्यक्रमको पठनपाठन हुँदै आएको छ । यहाँ बिएस्सी नर्सिङ, बिफर्मा, पब्लिक हेल्थ, मेडिकल ल्याब टेक्नोलोजी र फिजियोथेरापीको पढाइ हुन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button