तपाईँ सुन्दै हुनुहुन्छः

चार जना वरिष्ठ पत्रकार प्रादेशिक पत्रकारिता पुरस्कारबाट सम्मानित

विराटनगर । प्रदेश न १ सरकारले प्रदेशका चार जना वरिष्ठ पत्रकारहरूलाई प्रादेशिक पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ ।

प्रदेश न १ यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयले विराटनगरमा आज एक कार्यक्रमको आयोजना गरी लामो समयदेखि पत्रकारिता पेसामा लाग्नुभएका पत्रकारलाई सम्मान गरेको हो ।

मन्त्रालयले धनकुटाका वरिष्ठ पत्रकार सञ्जय सन्तोषी राई, धनकुटाकै स्मिता निरौला, झापाका लीला बराल तथा सुनसरीका कृष्ण विनोद लम्साललाई सम्मान गरेको हो । उहाँहरूलाई जनही एक लाख रुपैयाँसहित कदरपत्रद्धारा सम्मान गरिएको हो ।

प्रदेश न १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई तथा यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले उहाँहरूलाई सम्मान गर्नुभएको हो ।

प्रदेश १ सरकारले प्रत्येक वर्ष राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर पत्रकारहरूलाई सम्मान गर्दै आएकोमा यो वर्ष स्थानीय चुनावका कारण सम्मान कार्यक्रममा ढिलाइ भएको हो ।

त्यस अवसरमा मुख्यमन्त्री राईले लोकतन्त्रलाई थप बलियो बनाउन पत्रकारहरूले खबरदारी गर्नुपर्ने बताउनुभयो ।

यातायात व्यवस्था तथा सञ्चार मन्त्री घिमिरेले पत्रकारहरूको हक हितका लागि प्रदेश सरकारले आगामी बजेटमा थप कार्यक्रम ल्याउन लागेको बताउनुभयो ।

उहाँले ७५ वर्ष उमेर पुगिसकेका ज्येष्ठ नागरिकहरूलाई प्रदेश १ भरी सार्वजनिक सवारी साधनमा निःशुल्क आवतजावत गर्न पाउने गरी प्रदेश सरकारले व्यवस्था मिलाउन लागेको जानकारी गराउनुभयो ।

कार्यक्रममा प्रदेश १ का प्रमुख सचिव डा. रामप्रसाद घिमिरे, मन्त्रालयका सचिव ईश्वर कुमार गिरी, पत्रकार महासङ्घका प्रदेश न १ का अध्यक्ष लिलावल्लभ घिमिरे तथा महासचिव विवेक गौतमले पत्रकारको हकहितका विषयमा बोल्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button