तपाईँ सुन्दै हुनुहुन्छः

शुक्लागण्डकीमा सेवा प्रवाह सञ्चालन केन्द्र स्थापना 

तनहुँ ।  सेवाग्राहीको सुविधाको लागि तनहुँको शुक्लागण्डकी नगरपालिकामा सेवा प्रवाह सञ्चालन केन्द्र स्थापना गरिएको छ । 

सेवा लिन विभिन्न शाखामा जानुपर्ने र कर्मचारीलाई बुझाउन झन्झट हुँदा समस्या खेप्दै आएका सेवाग्राहीको अब कर्मचारी स्वयमले काम सम्पन्न गर्ने गरी केन्द्र सञ्चालनमा आएको हो । 

नगरले सार्वजनिक सेवा प्रवाहलाई नियमित, मितव्ययी, कानुन सम्मत, प्रभावकारी र औचित्यपूर्ण बनाई नागरिकमैत्री स्थानीय शासन सञ्चालन गर्न यो सेवा सुरु गरिएको नगरपालिकाले जनाएको छ ।  

केन्द्र स्थापनाको अवसरमा बोल्दै शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले सेवा प्रवाह सञ्चालन केन्द्रले सहजकर्ताको भूमिका निर्वाह गर्ने बताउनुभयो । 

उहाँका अनुसार शुक्लागण्डकीको ग्रामीण क्षेत्रमा तथा बजार क्षेत्रमा बसोबास गर्ने आम नागरिकले नगरपालिका आएपछि कुन कामको लागि कसलाई भेट्ने थाहा नहुने हुँदा यस केन्द्रले ठुलो सहयोग पुर्‍याउने छ । सहज केन्द्र सञ्चालन भएसँगै कर्मचारी र आम नागरिक बिचको सम्बन्ध प्रगाढ हुने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो । 

कार्यक्रममै बोल्नुहुँदै नगर उपप्रमुख खुमबहादुर विक (राजु) ले कामको लागि जनता कर्मचारीको ठाउँमा जाने नभई कर्मचारी नै आवश्यक परेको खण्डमा जनता सामु आएर काम गर्ने वातावरण सिर्जना गर्न केन्द्र सञ्चालनमा ल्याएको बताउनुहुन्छ ।

 

उहाँले सेवा प्रवाह केन्द्रबाट तोकिएको समयमा विधि र नियमसंगत जनताको काम गर्न कर्मचारीलाई आग्रह गर्नुभयो ।

शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेले नगरको सेवालाई जनमैत्री बनाउन सेवा प्रवाह केन्द्रले सहज बनाउन विश्वास व्यक्त गर्नुभएको छ  । 

उहाँले सार्वजनिक क्षेत्रमा सेवा प्रवाह केन्द्रको प्रयोग कमै हुने गरेको हुँदा सम्भवतः सेवा प्रवाह केन्द्र नेपालमै प्रथम पटक शुभारम्भ भएको दाबी गर्नुभयो । 

नगरपालिकाले पहिलो पटक यस्तो सेवा प्रदान गर्न लागेको हुँदा असार मसान्तसम्म परिक्षण कालको लागि गरिने र त्यसपछि थप परिमार्जित गर्दै अगाडी बढाउने उहाँले बताउनुभयो । 

नगरपालिकामा विभिन्न सेवा लिन पुग्ने सेवाग्राहीले आवश्यक कागजात केन्द्रमा रहेका कर्मचारीलाई प्रदान गर्नेछन् । उक्त काम केन्द्रका कर्मचारीलाई सम्बन्धित शाखा र कर्मचारीमार्फत सम्पन्न गरेर सेवाग्राहीलाई बिदाइ गर्ने गरी सेवा सुरु गरिएको हो । 

यो कार्यको सुरुवात भएपछि सेवाग्राहीलाई विभिन्न शाखा र कर्मचारीलाई भेट्न जानुपर्ने बाध्यता हट्ने विश्वास लिइएको छ । 

शुक्लागण्डकी नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख हिमा पोख्रेलले सेवा केन्द्रको परिचय, उद्देश्य र सञ्चालन विधिबारे जानकारी दिनुभयो  । साथै कार्यालयमा आउने आम सर्वसाधारण नागरिक फाइल लिएर वा नलिई कुनै पनि शाखामा प्रवेश गर्न नपाउने तर नगर प्रमुख र उपप्रमुखसँग भेट्न भने कुनै बाधा नपर्ने बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button